तेह्रथुम : १० किलोमिटर दौडमा गणेश, निरबहादुर र इन्द्रकला विजयी

तेह्रथुम, मंसिर २ – तेह्रथुममा भएको १० किलोमिटर दूरीको खुला दौड प्रतियोगितामा सशस्त्र प्रहरी बलका गणेश सिंह ठकुरी विजयी भएका छन् । ठकुरीले १० किलोमिटर दूरी ३२ मिनेटमा पार गरेर पहिलो भएका हुन् ।

प्रतियोगितामा तेह्रथुमको छातेढुंगाका उमेश कन्दङवाले ३३ मिनेट र झापाका याङ्देव राई ३४ मिनेटमा निर्धारित दूरी पार गर्दै क्रमशः दोस्रो र तेस्रो भए । महिलातर्फ पाँचथरकी इन्द्रकला नेम्भाङ ४८ मिनेट, तेह्रथुमकी सीता कार्की ४९ मिनेट र संखुवासभाकी सिर्जना राई ४९.७ मिनेटमा निर्धारित दूरी पार गर्दै क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । 

यस्तै ४४ वर्षमाथि उमेर समूहको भेट्रान्सतर्फ धरानका निरबहादुर चाम्लिङले ४२ मिनेट, तेह्रथुमका तुलसीराम तिम्सीनाले ४७ मिनेट र डिल्लीप्रसाद निरौलाले ४८ मिनेटमा १० किलोमिटर दूरी पार गर्दै क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् ।

प्रतियोगितामा खुला तर्फ पहिलो, दोस्रो र तेस्रो भएकाहरुले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् । यस्तै महिला र भेट्रान्सतर्फ क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित कप, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

जिल्ला खेलकुद विकास समिति तेह्रथुमले आयोजना गरेको प्रतियोगिताका लागि अहिले युकेमा कार्यरत तेह्रथुम सेवा समाज युकेका अध्यक्ष तिलबिक्रम सम्बाहाम्फेले पुरस्कारको प्रायोजन गरेका थिए ।