कांग्रेसमा जनलहर देखेर आक्रमण भयो : राज्यमन्त्री गुरुङ

तेह्रथुम, मंसिर ४ – नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा भौतिक पूर्वाधार राज्यमन्त्री सीता गुुरुङले नेपाली कांग्रेसमा जनलहर देखेर प्रतिपक्षिले आक्रमण सुरु गरेको आरोप लगाउनुभएको छ । तेह्रथुमबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ उम्मेदवार रहनुभएकी नेतृ गुरुङले सोमबार लालीगुराँस नगरपालिकाको टुटेमा आयोजित टोलस्तरीय चुनावी सभामा कांग्रेसमा देखिएको जनलहरलाई प्रभावित पार्न प्रतिपक्षिले आक्रमणको प्रयास गरेको बताउनुभएको छ । 

कांग्रेसले चुनावी कार्यक्रमका लागि तयार गरेको कार्यक्रमस्थल लालीगुराँस नगरपालिका–१ स्थित टुटेबजार नजिकै सोमबार बिहान शंकास्पद विष्फोटक पदार्थसहितको व्याग, तार र विस्फोट गराउन प्रयोग हुने ब्याट्री फेला परेको थियो । कांग्रेसको राम्रो पकड भएको क्षेत्रमा त्रास फैलाउनका लागि वाम–गठबन्धनले शंकास्पद बस्तुहरु राखेर तर्साउन प्रयास गरेको गुरुङको आरोप छ । 

उहाँले जिल्लाका मतदातालाई कसैको दबाब र प्रभावमा नपरी लोकतन्त्रको रक्षा र आर्थिक समृद्धिका लागि एकजुट हुन आव्हानसमेत गर्नुभएको छ । राज्यमन्त्री गुरुङले दैनिक तीन वटासम्म चुनावी सभाहरुमा सम्बोधन गरिरहनु भएको छ । जिल्लामा दलहरुले उम्मेदवारी दर्तापछि प्रचार प्रसारलाई तीव्र बनाएका छन् । गुरुङको मुख्य प्रतिष्पर्धीको रुपमा वाम गठबन्धनका उम्मेदवार एमाले नेता भवानीप्रसाद खापुङ पनि चुनावी प्रचार प्रसारमा हुनुहुन्छ । साभार http://ujyaaloonline.com