परिवार नियोजनका साधनबारे जानकारी अभाव

तेह्रथुम । परिवार नियोजनका साधनको बारेमा जानकारी नहुँदा गर्भपतन सेवालाई महिलाहरुले परिवार नियोजनको साधनको विकल्पको रुपमा प्रयोग गर्ने गरेका भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले सर्वसाधारण महिलाहरु समेतको पहुँचमा परिवार नियोजनका साधनहरुबारे सचेतना अभिवृद्धि गर्नुपर्ने खाँचो रहेको बताएका छन् ।

जिल्ला समन्वय समितिका उपप्रमुख प्रेमलता घिमिरेले ग्रामीण महिलाहरुमा परिवार नियोजनकै बारेमा थाहा नहुने र गर्भ बसेपछि गर्भपतन गर्ने गरेको पाइएको बताउनुभयो । उहाँले गर्भपतनलाई परिवार नियोजनको साधनको रुपमा नभई अनिच्छित गर्भ वा आमाको स्वास्थ्यमा असर गर्ने बखत् मात्रै गर्भपतन गर्नुपर्ने सोचको विकास गराउन खाँचो रहेको बताउनुभयो ।

जिल्लामा आइपास नेपालको सहयागमा समृद्ध तेह्रथुमका लागि अभियानले सन्चालन गरिरहेको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार परियोजनाको अनुगमनका क्रममा बुधबार लालीगुराँस नगरपालिका–८ सोल्मामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उपप्रमुख घिमिरेले ग्रामीण महिलाहरुको सचेतना वृद्धि गरी असुरक्षित गर्भपतनको पीडाबाट बचाउन परियोजनाले सहयोग गरिरहेको बताउनुभयो ।

उहाँले यस्तै प्रकृतिको कार्यक्रम स्थानीय तह र जनप्रतिनिधिहरुको माध्यमबाट समेत सबै महिलाहरुसम्म पुग्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो । सो कार्यक्रममा लालीगुराँस नगरपालिकाका उपप्रमुख तिला पोखरेलले सुरक्षित गर्भपतन सेवा सम्बन्धी जानकारी सर्वसाधारण महिलाहरु सम्म पु¥याएर अनिच्छित गर्भपतनको अधिकार सुनिश्चित गर्न कार्यक्रमले सहयोग पु¥याएको बताउनुभयो ।

नगरपालिकाले समेत सो क्षेत्रमा कार्यक्रम निर्माण गरेर लागु गर्ने तयारी रहेको उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.मुक्तिनारायण शाहले कार्यालयले परिवार नियोजनका साधनहरुबारे निरन्तर प्रचार प्रसार गर्दै आएपनि त्यसको पहुँचमा नरहेका महिलाहरुमा सचेतनाको खाँचो भएको बताउनुभयो । जिल्लामा आइपास नेपालले जिल्ला स्वास्थ्य कार्यालयसँगको सहकार्य गरी जिल्ला अस्पतालसहित १४ वटा स्वास्थ्य संस्थामा यो वर्षबाट सुरक्षित गर्भपतन सेवा सुरु गरेको छ ।

आइपासकै सहयोगमा समृद्ध तेह्रथुमका लागि अभियानले सोल्मा सहित बसन्तपुर, आम्बुङ र मोराहाङ गाउँमा यौन तथा प्रजनन् अधिकार र सुरक्षित गर्भपतनका सन्दर्भमा सचेतनामुलक कार्यक्रम सन्चालन गरिरहेको छ । संस्थाले रेडियो कार्यक्रम र विभिन्न समुह कार्य गरेर सचेतना अभिवृद्धिको कार्यक्रम सन्चालन गरिरहेको समृद्ध तेह्रथुमका लागि अभियानका अध्यक्ष महेन्द्र काफ्लेले बताउनुभयो ।