तेह्रथुमका पन्ध्र स्वास्थ्य संस्थाको सामाजिक परीक्षण हुँदै


तेह्रथुम । तेह्रथुमका विभिन्न नौ वटा स्वास्थ्य संस्थाहरुको सामाजिक परीक्षण सम्पन्न भएको छ । स्वास्थ्य संस्थाहरुको सेवा प्रवाहको अवस्थामा विस्तृत अध्ययन गरी सेवा गुणस्तर अभिवृद्धि गर्नका लागि जिल्ला स्वास्थ्य कार्यालयको सहयोगमा संमृद्ध तेह्रथुमका लागि अभियानले जिल्लैभरिका विभिन्न स्वास्थ्य संस्थाहरुको सामाजिक परीक्षण गरिरहेको छ ।

चालु आर्थिक वर्षमा जिल्लाका १५ वटा स्वास्थ्य संस्थाको सामाजिक परीक्षण गर्ने योजना भएअनुरुप हालसम्म नौ वटा स्वास्थ्य संस्थाको सामाजिक परीक्षण सम्पन्न भएको संमृद्ध तेह्रथुमका लागि अभियानका कार्यक्रम निर्देशक लक्ष्मीनारायण मिश्रले बताउनुभयो । उहाँका अनुसार हालसम्म मोराहाङ, आम्बुङ, सोल्मा, ओख्रे र फाक्चामारा स्वास्थ्य चौकीहरुको सामाजिक परीक्षण भएको छ । आगामी ज्येष्ठ मशान्तसम्म सबै स्वास्थ्य संस्थाको सामाजिक परीक्षण सम्पन्न गरिसक्ने बताइएको छ ।

अधिकांश स्वास्थ्य संस्थाहरुमा भएका सामाजिक परीक्षणमा सहभागीले स्वास्थ्य सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन माग गरेका छन् । सामाजिक परीक्षणका क्रममा जनप्रतिनिधिहरुले स्वास्थ्य सेवा महत्वपुर्ण भएकाले यसलाई भरपर्दो बनाउन पहल गर्ने प्रतिवद्धता समेत जनाइरहेका छन् । यसैबीच आइतबार मात्रै छथर गाउँपालिका–२ स्थित हमरजुङ स्वास्थ्य चौकीको सामाजिक परीक्षण भएको छ । कार्यक्रममा सहभागीले स्वास्थ्य चौकीको सेवालाई भरपर्दो बनाउन माग गरेका छन् । सहभागीले स्वास्थ्य चौकीको सेवा प्रवाहलाई गुणस्तरीय बनाउन माग गरेका छन् । सेवा प्रवाहका लागि भवन पर्याप्त भएपनि स्वास्थ्यकर्मीहरुलाई क्वाटरका लागि भवन अभाव भएको स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन् ।

कार्यक्रममा छथर गाउँपालिकाका उपाध्यक्ष तारा ढकालले स्वास्थ्य चौकीको सेवा प्रवाहलाई गुणस्तरीय बनाउन सहयोग गर्ने बताउनुभयो । उहाँले गाउँपालिकाको केन्द्रमा रहेको उक्त स्वास्थ्य चौकीले सिंगो छथर गाउँपालिकालाई स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने समेत बताउनुभएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय तेह्रथुमको सहयोग, संमृद्ध तेह्रथुमका लागि अभियानको सहजीकरण र हमरजुङ स्वास्थ्य चौकीको आयोजनामा भएको कार्यक्रममा स्वास्थ्य चौकीमा रहेर गरिएको अध्ययनबाट प्राप्त तथ्यहरु सहित स्वास्थ्य चौकीका राम्रा पक्ष, सुधार गर्नुपर्ने पक्षहरु र समस्याहरुका विषयमा संमृद्ध तेह्रथुमका लागि अभियानका सुपरभाइजर डिकेन्द्र बराल र दिपक खनालले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा छथर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष कुलबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।