‘छक्का पन्जा २’को गीतमा प्रियंका र विल्सनको छमछमी(सुटिङ रिपोर्ट)

काठमाण्डौबाट केही किलोमिटर पर पर्ने मुलपानी । बिहिबार दिउँसो परेको पानीले मुलपानीको चौर हिलाम्य बनाएको थियो । तर, पनि पहेलो पहिरनमा नायिका प्रियंका कार्की भने छमछमी नाँचरहेकी थिइन् । नाच्ने क्रममा हिलोका कारण उनी चिप्लिइन् पनि । करिब डेढ महिना अमेरिका बसेर आएकाले पनि प्रियंकाले क्यामेरा, एक्सन र कट मिस गरिरहेकी थिइन् ।

नृत्यमा पोख्त नायिकाले दिल खोलेर नृत्य गरिन् । पानी पर्दा सुटिङ रोकिन्थ्यो भने रोकिदा फेरि चल्थ्यो । वरिपरीका बासिन्दा गीतको सुटिङ हेर्नका लागि भेला भएका थिए 

६० जना कोरसलाइ ढाकाको पहिरनमा सजाउँदै कोरियोग्राफर कविराज गहतराजले भिडियोको कोरियोग्राफी गरिरहेका थिए ।

‘तिमी त्यो किनारामा, म यो किनारामा’
‘मनमा माया भएपछि, लेख्या हुन्न निधारमा’

किरण कँडेलको संगीत, उत्तम संजेलको शब्दमा हरिवंश आचार्य र आस्था राउतको स्वरमा यो गीत तयार पारिएको छ । पहिलो गीत ‘नाइलनको सारीमा’को भिडियोले मिश्रति प्रतिक्रिया पाएपछि कोरियोग्राफर कविराज गहतराज निकै मिहिनेत गरेर यो देउडा शैलीको गीतको भिडियो तयार पारिरहेका थिए । पुरुषोत्तम प्रधान मुलपानी चौरमा नायिका, नायक र ६० जना कोरसलाई भिडियोमा आकर्षक देखाउन लागिपरेका थिए ।

यो गीतमा प्रियंका कार्कीसँग हाँस्य कलाकार विल्सन विक्रम राइले नृत्य गरेका छन् । आजबाट छायांकन सुरु भएको गीतलाई ३ दिनमा सक्ने योजना यसको निर्माणपक्षको छ ।

विल्सनले गीतको बारेमा भने-‘यो गीतमा नृत्य गर्दा निकै रमाइलो भैरहेको छ । चलचित्रमा म यो गीतमा मात्र देखिनेछु । तर, दर्शकले गीतमै भएपनि मलाई मन पराउनुुहुनेछ ।’

नायिका प्रियंका कार्की हिजोमात्र नेपाल आएर, आजबाट छायांकनमा जोडिएकी हुन् । उनकै, कारणले असोज ११ गतेबाट रिलिज हुन लागेको चलचित्रको दोश्रो गीतको छायांकनमा केही ढिलाइ भएको हो ।

निर्माता तथा कलाकार दीपकराज गिरीले भने-‘यो गीतमा नायिका प्रियंका कार्कीसँग मेरो भेट हुन्छ र म उनीसँग मोहित हुन्छु ।’ उनले यो चलचित्रमा आफूहरुले वैदेशिक रोजगारको कथालाई मार्मिक ढंगले देखाउन खोजेको बताए ।’

गीतको भिडियोमा विल्सन र प्रियंका मुख्य रुपमा देखिनेछन् भने दीपकराज गिरी र वुद्धि तामाङको धमकेदार इन्ट्री पनि गीतको भिडियोमा दृख्न पाइनेछ ।
निर्देशक दीपाश्री निरौलाले चलचित्रमा आफूहरुले कमेडी, संवेदना सबैलाई समावेश गरेको बताइन् । उनले, यो गीतले पनि दर्शकको मन जित्नेमा विश्वास व्यक्त गरिन् ।

भदौ ७ गते निर्देशक दीपाश्री निरौलाको जन्मदिनको अवसर पारेर यो भिडियो सार्वजनिक गर्ने योजना निर्माणपक्षको छ । गतबर्ष ‘छक्का पन्जा’बाट राम्रो कमाइ गरेका दीपक र दीपा यसपटक पनि ‘छक्का पन्जा २’लाई दर्शकले उस्तै माया दिनेमा विश्वस्त छन् । यसैले त उनीहरु, घाम र पानीको प्रवाहा नगरि काम गरिरहेका छन् ।

तस्बिरः कमल प्रसाइ 

२०७४ साउन २६ गते १८:५९ मा प्रकाशित