तेह्रथुममा चार मतदान केन्द्र थपिए, ६६ हजार मतदाता

तेह्रथुम, १२ कात्तिक । दोस्रो चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुने पूर्वी पहाडी जिल्ला तेह्रथुममा चुनावी तयारी शुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै निर्वाचनको तयारीका काम धमाधम शुरु भएका छन् । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली, मतदान केन्द्र, मतदानस्थललगायत विषयको अन्तिम टुंगो लगाएको छ । कर्मचारी व्यवस्थापन, तालीम, आचारसंहिताबारे छलफल लगायतको तयारी भइरहेको निर्वाचन अधिकारी निर्मलकुमार राईले बताउनुभयो ।

उहाँका अनुसार निर्वाचन शिक्षा सामग्री आएलगत्तै २० कात्तिकदेखि गाउँगाउँमा निर्वाचन शिक्षा कार्यकर्ता खटाइनेछ । जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय सदरमुकाम म्याङलुङस्थित जिल्ला अदालतमा बिहीबारै स्थापना भइसकेको छ ।

चार मतदान केन्द्र थपिए

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि जिल्लामा ८९ वटा मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन अधिकारी राईले बताउनुभयो । यसअघिका ५७ वटै स्थलमा ८९ वटा मतदान केन्द्र कायम गरिएको हो । गत असारमा भएको स्थानीय चुनावभन्दा अहिले चार वटा मतदान केन्द्र थपिएका हुन् ।

स्थानीय चुनावयता मतदाताको संख्यासमेत थपिएकाले कार्यालयले मतदान केन्द्रको संख्या थपेको हो । प्रतिनिधि सभातर्फ एक र प्रदेश सभातर्फ दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा ६६ हजार ६६७ जना मतदाता रहेका छन् । कार्यालयले यसअघि ६६ हजार ७४३ मतदाता रहेका भनेको थियो । नामावली दोहोरिएका ७६ जनाको दाहोरिएको नाम काटेपछि अहिले मतदाताको संख्या ६६ हजार ६६७ मा झरेको हो ।

स्थानीय चुनावभन्दा छ हजार भन्दा बढी मतदाता

स्थानीय चुनावको भन्दा अहिले छ हजार मतदाता थपिएका छन् । जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकामा गरी छ हजार ३९ जना मतदाता थपिएका निर्वाचन अधिकारी राईले बताउनुभयो । जिल्ला निर्वाचन कार्यालयले दुई महिनासम्म जिल्लाभर मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम राखेको थियो ।

सो कार्यक्रममा जिल्लाका सात हजार ३९१ जनाले मतदाता नाम दर्ता गराएका थिए । तर त्यसमध्ये २०७४, भदौ ५ गतेसम्ममा १८ वर्ष पूरा भएकाले मात्रै मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । स्थानीय निर्वाचनमा जिल्लाका ६० हजार ७०४ जनाको नाम मतदाताको सूचीमा उल्लेख थियो ।