गोदाममै थन्कियो अलैंची

तेह्रथुम, १२ कात्तिक । जिल्लाको मुख्य नगदेबाली र आम्दानीको प्रमुख स्रोतको रुपमा रहेको अलैंचीले मूल्य नपाउँदा गोदाममै थन्किएको छ । उत्पादित अलैंची उचित मूल्यमा बिक्री नभएपछि किसानले गोदाममै थन्क्याएका हुन् ।

केही वर्षयता अलैंचीको मूल्यमा निरन्तर गिरावट आएसँगै कृषक चिन्तित बन्दै आएका छन् । उचित मूल्यमा अलैंची खरिद गर्न व्यापारी नआएपछि अब गोदाममा थन्क्याउनुको विकल्प नभएको किसानहरूको भनाइ छ । गत वर्ष अलैंचीले राम्रो मूल्य नपाउँदा किसानले भण्डारण गरेर राखेका छन् । यस वर्ष मूल्य बढ्ने आशामा रहेका किसान मूल्य झन् घटेपछि थप निराश भएका छन् ।

‘प्रतिमन १ लाख रुपैयाँसम्ममा बिक्री भएको अलैंचीको मूल्य हाल ३० हजार रुपैयाँमा झरेको छ,’ फेदाप गाउँपालिका–४, सम्दुका किसान नवीन चोङवाङले भने, ‘लगातार मूल्य घट्दा किसान र व्यापारी दुवै चिन्तित छन् । अलैंचीको भविष्य राम्रो देखेर परम्परागत खेती छाडेर व्यवसायिक अलैंची खेतीमा लागेका किसान निराश बन्दै गएका छन् ।

प्रति केजी ४० रुपैयाँ हुँदादेखि अलैंची खेती गर्दै आएका छथर गाउँपालिका–६ का नारायण लिम्बूले अलैंचीको मूल्य कम भएका कारण कामदार लगाएको रकम समेत नउठेको बताए । खोल्सीको कालो सुनको नामले परिचित अलैंचीको मूल्यमा गिरावट आएसँगै मूल्यको पर्खाइमा गोदाममा नै थन्क्याएर राखेका कृषकहरू आजित बन्दै आएका छन् । खेतीयोग्य जमिन मासेर खेती गर्दै आएका कृषक पछिल्लो समय चिन्तित बन्न थालेको आठराई गाउँपालिका–२, खाम्लालुङका गोपी ढुंगानाले बताए ।

कतिपय किसानले सस्तोमै अलैंची बिक्री गर्न थालेका छन्  । ‘दसैंपछि भाउ बढ्ने आशा गरे पनि नभएपछि सस्तोमै बिक्री गर्न बाध्य भएका छौं,’ ढुगानाले भने, ‘अलैंचीमा गरिएको लगानीसमेत डुब्न थालेको छ ।’

जिल्लाका ईवा, ह्वाकु, खाम्लालुङ, सम्दु, ईसिबु, ओयाक्जुङ, मोराहाङ श्रीजुङ, पौठाक, आङबुङ, जिरीखिम्ती, सोल्मा, सुङनाम फुलेक दाँगपा, बसन्तपुर सुदाप, आङदिमलगायतका स्थानमा अलैंची खेती गरिँदै आएको छ । कृषि विकास कार्यालयका वरिष्ठ अधिकृत रोहिणीराज घिमिरेले जिल्लामा ७ सय २३ हेक्टरमा अलैंची खेती हुँदै आएको जानकारी दिए ।

(साभार- काराेबार दैनिक ।)