छथरलाई सदरमुकाम जोड्ने सडकले यथासिघ्र पुर्णता पाउँछ ः भौतिक पुर्वाधार राज्यमन्त्री गुरुङ तेह्रथुमममा जिल्लैभरि कांग्रेसको प्रचार अभियान 

तेह्रथुम, २ मंसिर । भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री, एवम् तेह्रथुमबाट नेपाली कांग्रेसकी प्रतिनिधि सभाकी उम्मेदवार सीता गुुरुङले छथर गाउँपालिकालाई सदरमुकाम म्याङलुङसँग जोड्ने सडक निर्माणले चाँडै पुर्णता पाउने बताउनुभएको छ । जिल्लाको छुट्टै भुगोलको रुपमा छथर क्षेत्रलाई सदरमुकाम र पुर्वी आठराई क्षेत्रसम्म सिधा सडक सन्जालमा जोड्ने आफ्नो पुरानो उदेश्य रहेको भन्दै राज्यमन्त्री गुरुङले सो सडक खण्डको ट्रयाक ओपनसँगै लम्बु खोलामा पुल निर्माणको काम भइरहेको बताउनुभयो । उहाँले पुल निर्माणमा ढिलाई भएको प्रति आफुले पटक पटक चासो राखेको र यथासिघ्र सम्पन्न गर्न निर्देशन गरेको बताउनुभयो । 

चुनावी अभियानका क्रममा छथर गाउँपालिकाका विभिन्न गाउँमा शनिबार भएको कार्यकर्ता भेटघाटको क्रममा बोल्दै काग्रेस नेतृ गुरुङले सो सडक खण्डको स्तरोन्नतिको कामलाई समेत आफुले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले सो सडकको डिपीआर भइसकेको र आफुले कालोपत्रेका लागि पहल गरिरहेको समेत बताउनुभएको छ । यस्तै सो क्षेत्रको नसीबोटे–हमरजुङ–पन्चकन्या–सुदाप–मच्छिन्द्र मावि सडकको समेत बहुवर्षे योजनाको रुपमा डिपीआर भइरहेको राज्यमन्त्री गुरुङको भनाइ छ । शुक्रबारे देखि जोडीसल्ला हुँदै दाँगपा बसन्तपुर सडक र म्याङलुङदेखि तमोर नदी हँुदै पाँचथर जोडिने सडकको समेत डिपीआर भइसकेकाले अब तेह्रथुमबासीले सडकमा सास्ती बेहोर्नुपर्ने दिन कम हुँदै गएको उहाँले बताउनुभयो । राज्यमन्त्री गुरुङले आफुले चुनावी नारा मात्रै नबनाएर यसअगाडि समेत साँच्चिकै काम गर्ने प्रयत्न गरिरहेको यथार्थ छर्लङ्ग रहेको बताउनुभयो । 

कांग्रेस केन्द्रीय सदस्य समेत रहनुभएकी गुरुङले जिल्लामा वर्षौदेखि बामपन्थीहरुले नेतृत्व लिइरहेको तर विकासमा खासै परिवर्तन नभएको यथार्थलाई चिर्न कांग्रेसका सबै उम्मेदवारहरु लाई विजयी गराउन आग्रह गर्नुभयो । शनिबार छथर गाउँपालिकाका फाक्चामारा, पन्चकन्या र हमरजुङमा कांग्रेसको कार्यकर्ता भेटघाट तथा चुनाव प्रचार प्रसार कार्यक्रम भएको छ । कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश सभा (क) क्षेत्रका उम्मेदवार जिल्ला सभापति गोविन्द ढुंगानाले संघीय लोकतान्त्रिक संविधान जारी भएपश्चात्को यो ऐतिहासिक निर्वाचनले कांग्रेस एक ढिक्का बनेको भन्दै कांग्रेसको नेतृत्वमा मात्रै संविधान कार्यान्वयन र प्रजातन्त्रको रक्षा हुनसक्ने जिकिर गर्नुभयो । चुनाव प्रचारका क्रममा फाक्चामारामा सिद्धिमान लिम्बुको संयोजकत्वमा १०१ सदस्यीय, पन्चकन्यामा मानबहादुर लिम्बुको संयोजकत्वमा १५१ सदस्यीय र हमरजुङमा कुलबहादुर लिम्बुको अध्यक्षतामा १ सय ५१ सदस्यीय चुनाव प्रचार प्रसार समिति समेत गठन भएका छन् । 


यसैबीच नेपाली कांग्रेसको प्रदेश सभा (ख) निर्वाचन क्षेत्रको फेदाप गाउँपलिका–३, जलजलेमा पनि कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रदेश सभा (ख) का प्रत्यक्ष उम्मेदवार विजय सम्बाहाम्फेले बाम गठबन्धनका नेताहरुले गाउँ–गाउँमा झिनो आश्वासन बाँड्दै हिडेको भन्दै त्यस्तो आश्वासनको पछि नलाग्न मतदाताहरुलाई आग्रह गर्नुभयो । ‘दुई सय मिटर पाइप, पाँच वटा विजुलीको पोल पाइन्छ भनेर आफ्नो मत खेर नफाल्नुस्, मैले समृद्ध तेह्रथुमको खाकासहितको योजना लिएको छु,’ नेता सम्बाहाम्फेले भन्नुभयो । उहाँले तेह्रथुम जिल्लालाई प्रदेश नं. १ कै शैक्षिक हबको रुपमा स्थापित गर्न आफ्नो योगदान रहने बताउनुभयो । ‘कोही धनी छन्, कोही गरिब छौँ, तर मेरो योजना सम्पत्तिमा धनी गरिब जे–जे भएपनि जिल्लामै कमसेकम गुणस्तरीय उच्च शिक्षा पाउने वातावरण बन्नुपर्छ,’ उहाँले भन्नुभयो । कांग्रेस कार्यकर्ता भेटघाट कार्यक्रमबाट हर्क पयाङ्गोको संयोजकत्वमा १ सय ११ सदस्यीय वडास्तरीय चुनाव प्रचार प्रसार समिति समेत गठन भएको छ । 

आठराई गाउँपालिकाका विभिन्न वडाहरुमा समेत कांग्रेसको  चुनाव प्रचार प्रसार तीब्र रुपमा भइरहेको छ । आठराई गाउँपालिकाका ह्वाकु, इवा, चुहानडाँडा लगायत गाउँहरुमा आज एकसाथ चुनाव प्रचार प्रसार कार्यक्रम भएको छ । ह्वाकुमा भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता तथा निवर्तमान सांसद गणेश विमलीले तेह्रथुममा कांग्रेस एक ढिक्का भएर चुनावी अभियानमा जुटेको भन्दै यसले कांग्रेसलाई सफलता नजिक पु¥याएको बताउनुभयो । जिल्लामा बामपन्थीहरुले ०४६ सालपछि निरन्तर शासन गरेको तर विकास निर्माणले गति लिन नसकेको तितो यथार्थ रहेको भन्दै नेता विमलीले अब  तेह्रथुमको विकास निर्माणको ढोका खोल्न कांग्रेसका विद्धान्, शिक्षित र सबल युवा उम्मेदवारहरुलाई विजयी गराउन आम मतदाताहरुलाई आग्रह गर्नुभयो । सो कार्यक्रममा कांग्रेस पुर्वजिल्ला सदस्य हेमन्त गुरुङ, महासमिति सदस्य तथा पुर्वजिल्ला उपसभापति हरि डाँगी लगायत नेताहरुले मन्तव्य राख्नुभएको थियो । 
यता गाउँपालिका वडा नं. ४, इवामा पनि शनिबार भएको कांग्रेस कार्यकर्ताको भेलाले वडास्तरीय चुनाव प्रचार प्रसार समिति गठन गरेको छ । वडा सभापति खड्गप्रसाद ईङनामको संयोजकत्वमा गठित ३१ सदस्यीय प्रचार प्रसार समिति आठराई गाउँपालिका चुनाव प्रचार प्रसार समितिका संयोजक नारायण ईङनामको उपस्थितिमा गठन भएको हो । चुहानडाँडामा पनि कांग्रेस कार्यकर्ताको भेलाले चुनावी अभियान र नेपाली कांग्रेसले जनताको पक्षमा लिएका एजेण्डाहरुको विषयमा छलफल भएको छ । यसैबीच प्रदेश सभा (क) क्षेत्रीय चुनाव प्रचार प्रसार समितिले समेत चुनावी अभियानलाई तीब्र बनाएको छ । नेपाली कांग्रेस लालीगुराँस नगर कार्यसमितिका सभापति अर्जुनबाबु माबोहाङ सहित नेताहरुको टोलीले शनिबार फुलेकमा कार्यकर्ता भेटघाट तथा चुनाव प्रचार प्रसार कार्यक्रम सम्पन्न गरेको छ ।