नेपाल पत्रकार महासंघ युएई दशौं वार्षिकोत्सव मनाउँदै

युएई । नेपाल पत्रकार महासंघ युएई शाखाले दशौं वाषिर्कोत्सव भव्यताका साथ मनाउने भएको छ ।

आगामी जनवरी १२ तारिख शुक्रबार दुबईमा एक विशेष औपचारिक कार्यक्रम गरी नेपाल पत्रकार महासंघ, युएई शाखाले आधारभूत तथा विशेष पत्रकारिता तालिम आयोजना गर्ने भएको छ । सोही कार्यक्रममा एफएनजे युएई अवार्ड वितरण पनि हुने कार्यतालिका रहेको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा सन् २००७ मा शाखाको उद्घाटन गर्न आएका खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँले १० वर्षपछि दोहोर्याएर युएई आउने भएका छन् । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष समेत रहेका गाउँलेले युएईमा क्रियाशील सञ्चारकर्मीलाई मुख्य प्रशिक्षकमा रुपमा खोज पत्रकारिताका साथ साथै आधारभूत समचार लेखन तथा दक्षता अभिवृद्धि तालिम प्रदान गर्ने महासंघको युएई शाखाका अध्यक्ष भूपराज बस्यालले जानकारी दिए ।

तालिम संयोजनका लागि महासंघ युएई शाखाका उपाध्यक्ष लक्ष्मण खनालको संयोजकत्वमा ५ सदस्यीय एक समिति गठन गरिएको छ । पत्रकारिता तालिममा भाग लिन युएईमा रहेका इच्छुक सबैलाई आहृवान गरिएको संयोजक खनालले अनलाइनखबरलाई बताएका छन् ।

दशौं वार्षिकोत्सवको अवसरमा युएईको नेपाली पत्रकारिता क्षेत्रमा क्रियाशील एक पत्रकारको सम्मान स्वरुप गत वर्षदेखि प्रदान गरिँदै आएको एफएनजे युएई अवार्ड सोही दिन प्रदान गरिने भएको छ । यसका लागि महासंघका अध्यक्ष बस्याल र सचिव मेघराज सापकोटालाई महासंघको बैठकले जिम्मेवारी प्रदान गरेको छ ।

युएईमा क्रियाशील सञ्चारकर्मीहरुले समाचार संकलन, लेखन, सम्पादन, प्रकाशन र प्रशारणमा मात्र होइन, युएईको सामाजिक जीवनमा पनि प्रत्यक्ष योगदान गरिरहेका छन् ।

पत्रकारहरुको वनभोज    

नेपाल पत्रकार महासंघ युएई शाखाले पत्रकारहरुबीच आत्मीयता बढाउन अंग्रेजी नयाँ बर्ष २०१८ को प्रारम्भमै जनवरी १ तारिख दुबईको जाबिल पार्कमा वनभोज कार्यक्रम आयोजन गर्ने भएको छ ।

युएईको स्थानीय बिदाको अवसर पारेर पत्रकारहरुबीच सहयोग र सहकार्यको भावना विकास गराउने उद्देश्यले शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक दामोदर दाहालले बताए ।

उक्त वनभोजमा मनोरन्जनात्मक खेलकुद, चिठ्ठा र विविध साँस्कृतिक कार्यक्रम विशेष आकर्षक रहने संयोजक दाहालले जानकारी दिएका छन् ।

अंग्रेजी नयाँ वर्षको शुभकामना आदनप्रदानसँगै चिठ्ठा कार्यक्रममा प्रथम पुरस्कार मोबाइल, द्वितीय पुरस्कार ट्याबलेट, तृतीय पुरस्कार भित्तेघडी राखिने छ भने वनभोजका लागि नेपाली खानाका परिकारहरुको ब्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

बिभिन्न साँस्कृतिक कार्यक्रम, खेलकुद र भाग्यशाली चिठ्ठा राखिने कार्यक्रममा युएईमा क्रियाशील बिभिन्न संघसंस्था, बुद्धिजिबी, ब्यावसायी, पत्रकार, समाजसेवी लगायतलाई कार्यक्रममा सहभागी भई शुभकामना आदनप्रदान तथा बनभोज कार्यक्रममा सरिक हुनका लागि महासंघले सबैलाई आग्रह गरेको छ । अनलाइन खवर वाट