यी हुन् धनकुटा नै प्रदेश न‌ं. १ को राजधानी हुनुपर्ने कारणहरु

पूर्वाधार, सामथ्र्य, सुरक्षा, सुन्दरता तथा प्रशासनिक सुगमता र अन्तर्राष्ट्रिय सीमानाको पनि दृष्टिकोणले पनि १ नम्वर प्रदेशको राजधानी धनकुटा उपयुक्त भएकोले धनकुटालाई प्रादेशिशक राजधानी बनाउन सबै १ नम्वर प्रदेशका जनतालाई न्याय हुन्छ ।

प्रदेश नम्वर १ को १४ जिल्लाको भौगोलिक हिसावले केन्द्रमा रहेको धनकुटा हरेक किसिमले राजधानी बन्न उपयुक्त रहँदा रहँदै पनि राजनीतिक शक्तिको पहुँचका कारण धनकुटालाई राजधानी बनाइएन भने १ नम्वर प्रदेशवासीलाई ठूलो अन्याय हुन्छ ।

हरेक दृष्टिकोणले धनकुटा उपयुक्त रहेकाले नै वि.स. १८४० देखि पूर्व क्षेत्रको प्रशासनिक केन्द्रको रूपमा स्थापित भई हालसम्म निरन्तर रूपमा धनकुटा केन्द्रकै रूपमा र विकास क्षेत्रको राजधानी कै रूपमा कायम छ । राणाकालीन समयमा धनकुटा वडा हाकिमको अखडा हँदै राजनीतिक परिवर्तनपछि पनि धनकुटालाई पञ्चायत, प्रजातन्त्र र गणतन्त्रको स्थापनापछि र हालसम्म पनि धनकुटालाई पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकामकै रूपमा स्वीकार गरिएको छ । त्यही भएर क्षेत्रीय स्तरका कार्यालयहरू र उनीहरूका भौतिक पूर्वाधारले सम्पन्न भवनहरू आजसम्म कायम छन् ।

पहिचान र ऐतिहासिक पक्षलाई स्वीकार गर्दै निरन्तरता दिने क्रममा पूर्वाञ्चलको १६ जिल्लाको सदरमुकामका साथै प्रशासनिक केन्द्रको रूपमा रहँदै आएको धनकुटा प्रस्तावित १ नम्वर प्रदेशको १४ जिल्लाहरूको पनि बीच भागमा पर्छ । त्यसकारणले पनि १ नम्वर प्रदेशको राजधानी बनाउन विवादरहित ढंगले सबै जिल्लाका लागि स्वीकार्य पनि हुन्छ ।

धनकुटाको मुख्यबजार पूर्व पश्चिम राजमार्गको इटहरीबाट ७० किलोमिटर उत्तरमा पर्छ । तराईका सुनसरी, मोरङ, झापा र उदयपुर जिल्लाको धनकुटा आउने मुख्य नाका पूर्व पश्चिम राजमार्ग नै हो । बाँकी पहाडी हिमाली तराईका जिल्लाहरू समेटिने आधारहरू समेत तयार भइरहेका छन् । ताप्लेजुङ, पाँचथर र इलाम जिल्ला तमोर करिडोर, मध्यपहाडी राजमार्गबाट जोडिएका छन् भने इलामका लागि थप रवि राँके, भेडेटार सडक सञ्जालबाट जोडिएको छ । सोलुखम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर र भोजपुर जिल्लालाई समेत मध्य पहाडी राजमार्गले सिधैं जोडेको छ । तेह्रथुम, भोजपुर र संखुवासभा जिल्लासँग सिधैं सडक सम्पर्क छ ।

यसैगरी हवाई यातायतका लागि पनि धनकुटा नगरपालिका वडा नं. ९ को बेलहारा डाडामा सम्भाब्यता अध्ययन पूरा भई निर्माण कार्यसमेत प्रारम्भ भइरहेको छ । त्यसैले धनकुटा १ नम्वर प्रदेशको राजधानी भएपछि हिमाली ३, पहाडका ८ र तराईका ३ जिल्लाहरूका बहुसंख्यक समुदायको प्रतिनिधित्वको समेत सम्बोधन हुनेछ ।

भौतिक पूर्वाधारको हिसावले पनि धनकुटामा पर्याप्त सरकारी जग्गा र भवन छन् । धनकुटालाई १ नम्वर प्रदेशको राजधानी बनाइसकेपछि भौतिक संचरना निर्माणमा राज्यको ठूलो खर्चसमेत जोगिने भएकाले उक्त रकमलाई हाम्रो प्रदेशको विकासमा लगाउन सजिलो हुन्छ ।

सामथ्र्यको आधारमा पर्याप्त सरकारी जमिनमध्य धनकुटा नगरपालिकाभित्र र धनकुटाकै आसपासका नगरपालिकाहरूमा गरी जम्मा ४७ हजारभन्दा बढी सरकारी जग्गाहरू छन् । धनकुटा बजारमा मात्र १७ हजार १ सय ५५ रोपनी सरकारको नाममा रहेको खाली जग्गा, नेपाल ट्रष्टको नाममा रहेको १ सय ९४ रोपनी जग्गा, सुन्तला जात अनुसन्धान केन्द्र पारिपाल्ले र पाख्रिवास कृषि केन्द्रको जग्गा र उनीहरूको दर्जनौ भव्य भवनहरू छन् ।

धनकुटा बजार क्षेत्रमा मात्र थप ६ हजार ५ सय रोपनी जग्गामा जम्मा ३ सय ९७ बटा सुविधासम्पन्न भूकम्प प्रतिरोधात्मक पक्की र भव्य सरकारी कार्यालयहरूका आफ्नै भवनहरू छन् । ती भवनहरूमा प्रदेशसभा प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्रीहरू, प्रदेशसभाका विभिन्न समितिका कार्यालयहरू र प्रमुख मुख्य सचिव तथा प्रदेशका मन्त्रालयहरू तत्काल राख्न सकिन्छ ।

धनकुटाको भव्य र सुविधासम्पन्न सामुदायिक भवनमा प्रदेश संसद भवन स्थापना गरी प्रदेशसभाको बैठक गर्न सकिन्छ भने विभिन्न समितिको बैठकहरू धनकुटाको जिविस हल, बहुउदेश्यीय सामुदायिक भवन सल्लेरी, क्षेत्रीय स्वास्थ्य निर्देशनालयको सभा हलमा पनि गर्न सकिन्छ । प्रदेशका मुख्य मन्त्री, गर्भनर, मन्त्रीहरू, प्रमुख सचिव र सचिवहरू र सांसदहरूलाई समेत आवासको लागि सरकारी क्वाटरहरूमा नै राख्न सकिने सरकारी भवनहरू छन् ।

पूर्वाधार सम्भाव्यता अध्ययन टोलीको प्रारम्भीक प्रतिवेदनमा धनकुटाका लागि तत्काल राजधानी राख्न मर्मत खर्च ५ करोड २५ लाख, विराटनगरमा २१ करोड र सुनसरीमा संरचना नै उपयुक्त नभएको भन्दै खर्च विवरण अनुमान नगरिएको प्रतिवेदन बुझाएको थियो । सामान्य प्रशासन मन्त्रालयले बुझाएको प्रतिवेदनमा भनिएको छ, ‘प्रशासनिक सुगमताको दुष्टिले पनि धनकुटा उपयुक्त रहेको र धनकुटा सुरक्षाको दृष्टिकोणले र हावापानीको हिसावले पनि अत्यन्त राम्रो भएकोले धनकुटा १ नम्वर प्रदेशको राजधानी बनाउन उपयुक्त हुन्छ ।’

१ नम्वर प्रदेशको प्रादेशिक राजधानी धनकुटा हुन सबै किसिमले उपयुक्त हुँदाहुँदै पनि राजनीतिक पहुँच र शक्ति प्रदर्शनका कारण धनकुटालाई प्रदेश रावधानी नबनाउने षडयन्त्रहरू भइरहेका छन् । यो अत्यन्तै दुःखद र दूर्भाग्यपूर्ण छ । यसले धनकुटेलीप्रति ठूलो अन्यायमा पार्दैछ । त्यसैले सबै राजनीतिक पार्टीका प्रमुख नेता गणहरू, प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसद ज्यूहरूले विवेकपूर्ण निर्णय गरी धनकुटा र सिंगो १ नम्वर प्रदेशलाई न्याय गर्नु हुनेछ भन्ने पूर्ण विश्वास र भरोसा लिएका छौ ।

पूर्खाहरूले निरन्तर रूपमा अहिलेसम्म जोगाउँदै ल्याएको धनकुटाको गौरव, पहिचान र इतिहासलाई अहिलेको पुस्ताले मेहनेत र सक्रियताले जोगाउन सक्नसपर्छ । यदि जोगाउन सकिएन भने भावी पुस्ताले धनकुटाको मान र सम्मान जोगाउन सक्नेवाला छैन । त्यसैले धनकुटाको गौरव, पहिचान, इतिहासको सम्मान गर्दै धनकुटालाई जीवन्त राख्न पनि प्रदेश नं. १ को राजधानी धनकुटालाई बनाउनुपर्छ ।

राई नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष हुन् ।

-निशान न्युज अनलाइनबाट ।