दुई पहाडी जिल्लाका सदरमुकाम सडक सञ्जालमा जोडिए

२४ पुस, तेह्रथुम । तेह्रथुमको माझीटार–पोक्लाबाङ कृषि सडकको बाटो खोलेसँगै कोशी र मेची अञ्चलका दुई जिल्ला तेह्रथुम र पाँचथरका सदरमुकाम सडक सञ्जालमा जोडिएका छन् ।

सडकको बाटो खोलेपछि कोशी पहाडी जिल्ला तेह्रथुमको सदरमुकाम म्याङ्लुङ र मेची पहाडी जिल्ला पाँचथरको सदरमुकाम फिदिम सडक सञ्जालमा जोडिएका हुन् ।

यही साताबाट व्यवसायीले म्याङ्लुङदेखि फिदिमसम्म सिधा यातायात सेवासमेत सञ्चालन गरेका छन् । म्याङलुदेखि फिदिमसम्म र फिदिमदेखि म्याङलुङसम्म दैनिक एक/एक वटा ट्याक्सी सञ्चालन भइरहेका छन् । कच्ची सडकबाटै भए पनि सवारी सञ्चालन हुन थालेपछि म्याङ्लुङबाट धनकुटा, सुनसरी, मोरङ र झापा हुँदै इलाम उक्लिएर फिदिमसम्म पुग्नुपर्ने बाध्यता हटेको छ ।

एकफन्को मारेर फिदिम पुग्नुपर्ने अवस्थामा ट्याक्सी सञ्चालन हुन थालेपछि यस क्षेत्रका यात्रुलाई सुविधा मिलेको छ । लामो समयपछि दुई जिल्ला सदरमुकामलाई यातायात सञ्जालले जोडेपछि दुवै जिल्लावासीलाई सहज भएको छ । सवारी साधन सञ्चालन नहुँदा म्याङ्लुङ र फिदिम आवतजावत गर्दा पाँच जिल्ला हुँदै महँगो भाडा तिरेर यात्रा गर्नुपर्ने बाध्यता थियो भने कम्तीमा पनि दुई दिनको यात्रा तय गर्नु पर्दथ्यो ।

म्याङ्लुङ बसपार्कबाट फेदापको पोक्लाबाङ हुँदै थोक्लुङ–माझीटार सडकखण्डबाट पाँच घण्टामा फिदिम पुगिने ट्याक्सी चालक कुमार लिम्बूले बताए । “सडक कच्ची भए पनि चाँडै पुगिन्छ, यात्रु पनि पर्याप्त छन्”– चालक लिम्बूले भने । प्रादेशिक राजधानी माग गर्दै धनकुटा बन्दसमेत हुन थालेपछि अहिले तेह्रथुमबाट पाँचथर, इलाम, झापा हुँदै मोरङ आउनेसमेत यही सडकलाई वैकल्पिक मार्गकारुपमा प्रयोग गर्न थालेका छन् ।

तेह्रथुमबाट ताप्लेजुङ र इलाम जाने यो सडक भएर सार्वजनिक सवारीबाटै एकै दिनमा पुग्न सक्छन् । “यो बाटो भएर ताप्लेजुङ, इलाम जाने पनि धेरै छन्, भाडा पनि सस्तो पर्छ, अहिले त यात्रुको पनि खाँचो छैन”– व्यवसायी सन्तोष निङलेकुले भने । अहिले सडकको बाटो खोलेसँगै सवारी सञ्चालन भएपछि वर्षा लागेपछि यो सडक सञ्चालन हुने सम्भावना देखिँदैन । सो सडक खण्डको कोयाखोलामा पुल छैन भने सडकलाई समेत स्तरोन्नतिको खाँचो छ ।स्राेत:https://www.onlinekhabar.com/2018/01/651097