प्रादेशिक राजधानिको मागले पुर्बी नेपाल प्रभाबित

धनकुटा, २७ पुस । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै आवहान गरिएको बन्दले आज धनकुटाको जनजीवन प्रभावित बनेको छ । प्रादेशिक राजधानीका लागि हरेक हिसावले उपयुक्त भएपनि सरकारले धनकुटालाई वेवास्ता गरेको भन्दै आज बस्ने मन्त्री परिषद् बैठकलाई लक्षित गरी बन्द आवहान गरिएको हो ।
बन्दका कारण बिहानैदेखि धनकुटामा लामो तथा छोटो दुरीका कुनैपनि सवारी साधन सञ्चालन भएका छैनन् । बन्द गराउँनका लागि बिहानैदेखि सयौंको संख्यामा धनकुटाबासी सडकमा निश्किएका छन् । सरकार बिरुद्ध प्रदर्शन गर्दै उनीहरुले सडक अवरुद्ध गरिरहेका छन् । यातायात ठप्प बनाएका जिल्लाबासीले मोटरसाईकलसमेत गुड्न दिएका छैनन् । धनकुटाको जिरोपईन्ट, सरस्वती चौक, आत्मारा लगायत दर्जनौ स्थानमा ढाट राखेर सडक अवरुद्ध गरिएको छ ।
बजार पसल, उद्योग धन्दा, कलकारखाना लगायत पनि ठप्प छन् । प्रादेशिक राजधानी माग गर्दै यसअघि धनकुटामा ६ दिन आमहड्ताल गरिएको थियो । त्यसपश्चात दुई दिन एक/एक घण्टा चक्काजाम गरी आज पुनः बन्द आवहान गरिएको हो । अन्यत्र प्रादेशिक राजधानी नस्वीकारने अडान राख्दै २८ दिनदेखि प्रदर्शन जारी राखेका धनकुटाबासीले प्रादेशिक राजधानीका लागि जस्तोसुकै मुल्य चुकाउँन पछि नपर्ने चेतावनी दिदै आएका छन् ।
प्रशासनीक गौडा हुँदै पूर्वाञ्चल बिकास क्षेत्रको सदरमुकामसमेत भईसकेको धनकुटामा पर्याप्त भौतिक पुर्वाधार, १ नम्बर प्रदेशका १४ वटै जिल्लाको केन्द्र भागमा पर्ने, उपयुक्त हावापानी, मजवुत सुरक्षा ब्यवस्था लगायत कारणले प्रादेशिक राजधानी घोषणा गरिनुपर्ने जिल्लाबासीको माग छ ।