छथर गाउँपालिकामा सीसी टिभी र विद्युतीय हाजिरी जडान

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले सीसी टिभी र सबै सरकारी कार्यालयहरुमा बिद्युतीय हाजिरी मेसिन जडान गरेको छ । गाउँपालिका कार्यालयसहित सेवा क्षेत्रभित्रका विद्यालय, सबै स्वास्थ्य चौकी र सबै वडा कार्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरेको हो ।

सुशासन अभिवृद्धि, शैक्षिक गुणस्तरमा सुधार तथा नियमित अनुगमनलाई व्यवस्थित गर्न गाउँपालिका कार्यालयमा सीसी टिभी तथा विद्युतीय हाजिरी जडान गरिएको अध्यक्ष सन्तवीर लिम्बुले बताउनुभयो । गाउँपालिकाको कार्यालयका सबै शाखा र कोठाहरुमा सीसी क्यामेरा जडान गरिएको छ भने ती सबै काम र गतिविधिको प्रत्यक्ष निगरानी गाउँपालिका अध्यक्षको कोठाबाट गर्ने गरी जडान गरिएको छ ।

यस्तै गाउँपालिकाले सेवा क्षेत्रका नौ वटा माध्यमिक विद्यालय, छ वटा स्वास्थ्य चौकी र सात वटै वडा कार्यालयहरुमा विद्युतीय हाजिरी मेसिन जडान गरेको प्रवक्ता राजन नेपालीले बताउनुभयो । विद्यालयहरुमा शैक्षिक गुणस्तर वृद्धि गर्न विद्युतीय हाजिरीले पुग्ने आशा सहित जडान गरिएको उनले बताए । ‘शैक्षिक गुणस्तरका धेरै आधारहरु हुन्छन्, त्यसमध्ये सबैभन्दा पहिले शिक्षक विद्यालयमा नियमित उपस्थित हुनु जरुरी देखियो, त्यसैले विद्यालयमा पनि विद्युतीय हाजिरी जडान थालिएको छ,’ उहाँले भन्नुभयोे ।

आगामी वर्षबाट सेवा क्षेत्रका सबै विद्यालयहरुमा विद्युतीय हाजिरी जडान गर्ने तयारी रहेको उहाँले बताउनुभयो । विद्युतीय हाजिरी जडानपछि शिक्षकहरु नियमित विद्यालयमा उपस्थित भए नभएको नियमित अनुगमन गर्न सहज हुने भएको हो । यसपछि सरकारी विद्यालयप्रतिको विकर्षणलाई हटाउन तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न आम–अभिभावक, विद्यार्थी र सरोकारवालाको उचित सल्लाह, सुझाव र परामर्शबाट अघि बढ्ने अध्यक्ष लिम्बुले बताउनुभयो ।

गाउँपालिकाले सुशासन वृद्धि तथा सेवा गुणस्तरमा सुधार ल्याउन सीसी टिभी तथा विद्युतीय हाजिरी जडान गरिएको उहाँले बताउनुभयो । ‘विद्युतीय हाजिरी जडानपछि कर्मचारीहरु ढिलोगरी कार्यालय आउने, मनपरी विदा लिने जस्ता समस्या सुल्झिने आशा गरिएको छ,’ उहाँले बताउनुभयो । गाउँपालिकालाई प्रविधिमैत्री बनाउने अभियान समेत सुरु भएको अध्यक्ष लिम्बुले बताउनुभयो । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका अन्य स्थानीय तहले सीसी टिभी र विद्युतीय हाजिरीको अभ्यास गर्न भ्याएका छैनन् ।