सबैको भावनाको प्रतिनिधि म नै हुँ– शेरधन राई

संघीय संरचनाअनुसार प्रदेश सरकार बनाउने प्रक्रिया सुरु भइसकेको छ । १ नम्बर प्रदेशको प्रदेशसभाको पहिलो बैठकको आगामी माघ २२ गते बस्दैछ । प्रदेश सभाको बैठक सुरु भएपछि प्रदेश सरकार गठनको प्रक्रिया सुरु हुन्छ । प्रदेश १ को मुख्यमन्त्री दाबी गर्ने अहिले तीन धारमा विभक्त भएका छन् । एमालेका स्थायी समिति सदस्य तथा सुनसरी क्षेत्र १ खबाट निर्वाचित भीम आचार्य, एमालेका पोलिटव्युरो सदस्य तथा भोजपुरको प्देशसभा खबाट निर्वाचित शेरधन राईलाई मुख्यमन्त्रीको दाबेदार मानिँदै आएको थियो । तर हाल एमाले केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. ४ खबाट निर्वाचित जीवन घिमिरेले पनि मुख्यमन्त्रीमा दाबी गरेपछि मुख्यमन्त्रीका आकांक्षीका तीन धार भएका हुन् । मुख्यमन्त्रीका दाबेदार राई एमाले अध्यक्ष केपी ओली निकट मानिन्छन्, घिमिरे नेता माधव नेपाल निकट र आचार्य नेता झलनाथ खनाल निकट मानिन्छन् । यी तीनैले पत्रकार सम्मेलन गरेरै आफ्नो दाबी प्रस्तुत गरेका छन् । निर्वाचन अघिदेखि भोट माग्ने क्रममै आफूलाई मुख्यमन्त्रीको दाबेदारका रूपमा जनतालाई ‘कन्भिन्स’ गरेका शेरधन राई आफूलाई बलियो दाबेदार मान्छन् । यही सेरोफेरोमा रहेर १ नम्बर प्रदेशको मुख्यमन्त्रीमा दाबी गरिरहेका एमाले पोलिटब्युरो सदस्य तथा प्देश सभाका सांसद शेरधन राईसँग गरिएको कुराकानीको अंशः 

केन्द्र र प्रदेशको सरकार कहिले बन्ला?
फागुनको दोस्रो साताभित्र केन्द्र सरकार बन्ने पक्का छ । यही माघ महिनाभित्र वा ढिलोमा फागुनको २ गतेसम्म सबै प्रदेशको सरकार बन्ने निश्चित छ ।

प्रदेश सरकार बनाउनका लागि संसदीय दलको नेता छान्ने वा चुनाव गर्ने ?
पार्टीको केन्द्रले केही दिनभित्र प्रदेशको संसदीय दलको बैठक मिति तोक्नेछ । त्यस बैठकबाट दलको नेता छान्ने काम हुन्छ । दलको नेता सकेसम्म सर्वसम्मत छान्छौं । नसके प्रक्रियाबाट प्रतिस्पर्धा गराएर दलको नेता चयन हुन्छ । त्यसपछि मुख्यमन्त्री दलको नेता बन्ने प्रक्रिया सुरु हुन्छ र प्रदेश सरकार बन्छ ।

एमालेको एकल बहुमत रहेको १ नम्बर प्रदेशमा मुख्यमन्त्री को हुन्छ ?
प्रदेश नम्बर १ को मुख्यमन्त्रीको विषयमा निर्वाचनकै क्रममा मैले जनताबीचमा आफू मुख्यमन्त्रीको दाबेदार हुँ भनेको थिएँ । सोही अनुसार मैले मुख्यमन्त्रीको दाबीलाई अहिले पनि बलियो ढंगले उठाइरहेको छु । म नै सबै दलका सदस्यको विश्वास जित्न सक्छु । सबैको भावनाको प्रतिनिधित्व पनि म नै गर्नसक्छु । त्यसो हुँदा म दलको नेता जित्ने कुरामा विश्वस्त छु ।

संसदीय दलको नेता केन्द्रले टुंग्याउन सक्छ ?
स्थायी कमिटिले छलफल गरेर माथिबाटै टुंग्याउन पनि सक्छ । माथिबाटै निर्णय भयो भने हामी मान्न बाध्य हुन्छौं । त्यसो नहुँदा स्थायी कमिटिले तोकेको मितिभित्र संसदीय दलको बैठक आह्वान हुन्छ । र, प्रदेश संसदको संसदीय दलबाट नेता चयन हुन्छ ।

स्थायी कमिटिको बैठकबाट तपाईंको पक्षमा निर्णय हुन सक्छ ?
केन्द्रले प्रदेशको सबै परिस्थिति र पक्षको विश्लेषण गरेर निर्णय गर्नुपर्छ । संविधानको मर्म, भावना, स्प्रिट र संघीयताको सवाललाई ख्याल गरेर पार्टीको स्थायी कमिटिले निर्णय गर्ने हो । त्यसलाई हामीले अन्यथा लिन हुन्न । त्यसो नहुँदा प्रदेशकै संसदीय दलको बैठकले नेता चुन्छ त्यो भनेको लोकतान्त्रिक र योग्य मतको आधारबाट हुन्छ ।

तर, ५ नम्बरमा त स्थायी कमिटि बैठक नबसी नेता छानियो त ?
५ नम्बर प्रदेशले स्थायी समितिको बैठकले मिति नतोकी नै दलको नेता चुनेको छ । त्यहाँ वामगठबन्धदेखि पार्टीबाट मुख्यमन्त्रीको दाबी गर्ने एकब जना मात्रै भएको कारण निर्याय सहज भयो । त्यसले माथिबाट निर्णय गरेर दलको बैठक बस्ने भन्ने कुराको खण्डन गर्यो । तलैबाट निर्णय हुनसक्छ भन्ने कुरा प्रमाणित पनि भयो । तर, स्थायी समितिले पनि निर्णय गर्नसक्छ, त्यो अधिकार केन्द्रलाई छ ।

एमालेकै स्थायी समिटि सदस्य भीम आचार्यले मुख्यमन्त्रीमा दाबी गरिरहेका बेला तपाईंको दाबी कमजोर भएको छैन ?
उहाँले त्यसो भन्नु स्वभाविक हो । प्रतिस्पर्धामा भाग लिने सबैले म जित्छु भन्नै पर्छ । कसले जित्छ त्यो पछिको कुरा हो ।

पार्टीकै केन्द्रीय सदस्य जीवन घिमिरेले पनि दाबी गर्नुभएको छ । उहाँको समर्थन तपाईंतिर होला ?
उहाँले पनि मुख्यमन्त्रीमा दाबी गर्नुभएको छ । मलाई समर्थन गर्नु भएको छैन । प्रक्रिया आरम्भ भएपछि उहाँले के गर्नुहुन्छ त्यतिबेलै थाहा हुन्छ ।

१ नम्बर प्रदेशको स्थायी राजधानीका बारेमा के भन्नुहुन्छ ?
विराटनगरलाई सरकारले अस्थायी राजधानी तोकेको छ । हामीले सपथ ग्रहण पनि विराटनगरमै गरिसकेका छौं । स्थायी राजधानी तोक्ने विषय प्रदेश सभाको दुईतिहाई बहुमतको निर्णयले हुने हो । त्यसकारण मैले आफ्ना धारणा राख्नु हतारो हुन्छ । तर, जनताको आन्दोलन, दबाव, प्रदेशको सबै जनताको भावनालाई बुझेर प्रदेशसभाका माननीय सदस्यले व्यक्त गर्ने विचार र भावनालाई पनि ख्याल गरेर उपयुक्त ढंगले स्थायी राजधानी तोक्ने काम प्रदेश सभाले गर्नुपर्छ ।

पार्टी एकतापछि पनि प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी ओली नै भन्नुहुँदैछ, यसरी पार्टी एकता होला र ?
दलका दुई अध्यक्षले गरेको निर्णयअनुसार नै सहमति हुन्छ । मैले यदि सहमति भयो भने सरकारको नेतृत्व र पार्टीको नेतृत्व एकैजनाले पनि गर्न सक्नुहुन्छ भन्ने विषयमा बोलेको हुँ । दुई मूल नेता केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भयो भने दुवै पदमा एउटै व्यक्ति पनि हुनसक्छ । होइन, फरकफरक व्यक्ति हुनुपर्छ भन्ने विषयमा सहमति भयो भने त्यसै पनि हुन सक्छ ।

पार्टी एकता पहिले कि सरकार ?
विलम्ब नगरिकन सकिन्छ भने सरकार बन्नुभन्दा अगाडि पार्टी एकता हुनुपर्छ भन्ने मेरो धारणा हो । तर, नीति र नेतृत्वको विषयमा तत्काल सहमति हुन ढिलाई भएको कारण सरकार निर्माणको कामलाई पनि विलम्ब गर्नु हुँदैन ।

मुख्यमन्त्रीको भागबण्डा मिलिसकेको छ, १ नम्बर प्रदेशमा सरकारको संरचना कस्तो हुन्छ ?
१ नम्बर प्रदेशमा वाम गठबन्धनबाटै सरकार बन्छ । गठबन्धन बाहेका अन्य दललाई पनि समेट्ने बारे अनौपचारिक छलफल भइरहेको छ ।

वाम सरकार बन्नलाग्दा कांग्रेस नेतृत्वको सरकारले गरेको लोकप्रिय निर्णयको विरोध किन गर्नु भएको ?
अहिलेको सरकारले अत्यन्तै गलत ढंगले भटाभट निर्णय गरेको छ । त्यस विषयमा पार्टीले आधिकारिक धारणा पनि सार्वजनिक गरिसकेको छ । राजीनामा गरेर बस्नुपर्ने बेलामा कामचलाउ सरकारले त्यस्तो निर्णय गर्ने अधिकार राख्दैन ।

निर्णय गलत हो कि प्रक्रिया गलत हो ?
कतिपय निर्णय गलत छन् । सस्तो लोकप्रियताका लागि भटाभट निर्णय गरिराखेको छ । जुन कुरा कार्यानवयन गर्न सकिन्छ कि सकिँदैन, भन्ने विषय हेरिएको छैन । अहिलेको सरकारले त त्यो निर्णय कार्यान्वयन गर्नु छैन, नयाँ सरकारले कार्यान्वयन गर्ने हो भने यो सरकारले निर्णय गर्ने होइन, यो उपयुक्त छैन । अहिलेको सरकारले गरेका कतिपय गलत निर्णय नयाँ सरकारले खारेज गर्छ ।