सरकारी बेवास्ताका कारण धनकुटामा माछा व्यवसाय संकटमा

धरान/ धनकुटामा माछा व्यवसायले फड्को मार्न सकेको छैन । ६ वर्ष यता माछाको व्यावसायिक उत्पादन सुरु भएको धनकुटामा माछापालन व्यवसाय फस्टाउन नसक्नुका कारण पहिल्याइएको छ ।

माछा पालनको प्रसस्त सम्भावना भएपनि प्राविधिक ज्ञानको अभाव, भारतीय माछाको उपलब्धता, सिचाइ सुविधा नहुनु, वित्तीय संस्थाले लगानीमा चासो नदिँदा कृषकले भनेजति उत्पादन गर्न सकेका छैनन् । जसका कारणले माछा व्यवसाय संकटमा परेको छ ।

२०६७–६८ सालबाट माछापालनको ब्यावसायिक सुरुआत भएको धनकुटामा ६ बर्ष बित्दा पनि आशातित सफलता हात परेको छैन । स्थानीय स्तरमा उत्पादित माछाको माग र उत्पादनको प्रसस्त सम्भावना रहेको छ । विगत छ वर्षमा धनकुटामा चार हेक्टर क्षेत्रफलबाट वार्षिक पाँच मेट्रिकटन मात्रै माछा उत्पादन हुँदै आएको छ । पहाडी क्षेत्रमा उत्पादन गरिएको माछा खान स्वादिलो हुने तथा आयातित माछा भन्दा ताजा हुने भएकाले स्थानीय क्षेत्रमै उत्पादन गरिएको माछाको माग बढि छ ।

जिल्लामा उत्पादन भएको माछालाई बजारको कुनै समस्या नरहेको तथा माग धान्नै मुस्किल रहेको धनकुटा बुढिमोरङका माछापालक देव इवाहाङ बताउँछन् । हाल जिल्लामा उत्पादन भएको माछाले थोरै मात्र जिल्लाको माग धान्ने गरेको छ । ९० प्रतिशत भन्दा बढि भारतीय र तराईको बजारबाट आपूर्ति हुने गरेको छ ।

माछा कृषकलाई माछा पालन गर्न प्रविधिको समस्यामात्र हैन लागत पनि बढि पर्छ । यसैका कारण तराई तथा भारतको माछाले बजार पिटेको छ । कृषकका लागि आम्दानीको मुख्य स्रोत भएपनि माछापालन व्यवसाय फस्टाउन नसकेको जिल्ला कृषि विकास कार्यालय धनकुटाका प्राविधिक सूर्य सापकोटा बताउँछन् ।

माछा पालन व्यवसाय फस्टाउन नसक्नुका पछाडि तीन वर्ष यता जिल्ला कृषि विकास कार्यालयले उपलब्ध गराउँदै आएको सेवा सुविधाको कटौती पनि हो । यस अघि कार्यालयले माछाका भुरा तराईबाट निशूल्क ढुवानी गराउँदै आएको थियो । यता माछापालन गर्न आर्थिक समस्या समेत हुने गरेको छ । बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा थारै ब्याजमा लगानी गर्ने गरेको सुने पनि यस क्षेत्रमा लगानीमा चासो नदिएका कारण माछापालन व्यवसायीे स्थानीय कृषक मुना सुब्बाको भनाइ छ ।

जिल्लाको लेउती, बाख्रे तथा पात्ले खोला आसपासका विभिन्न स्थानमा व्यावसायिक माछा उत्पादन हुने गरेको छ । धनकुटाको उच्च क्षेत्रमा असला, सहर, तथा तल्लो क्षेत्रमा मुङ्ग्री, रहु, कमनकार्भ, ग्रासकार्भलगायतका माछा व्यावसायिक रूपमा सफल देखिएका छन् ।साभार:-http://www.pahilokitaab.com/news/view?id=3775