चन्द्रमामा पनि फोरजी नेटवर्क !

फागुन : संसारका कतिपय स्थानमा फोरजी नेटवर्क पुगेको छैन तर वैज्ञानिकहरुले चन्द्रमामा फोरजी नेटवर्क पर्याउने महत्वकांक्षी योजना अघि बढाएका छन् । भोडाफोन जर्मनी र नोकियाको सहकार्यमा चन्द्रमामा फोरजी नेटवर्क सञ्चालन गर्न लागिएको हो । जसले गर्दा रोबोटको सहायताबाट चन्द्रमाको लाइभ भिडियो खिच्न सकिनेछ । 

यो नेटवर्क बर्लिनको पार्ट टाइम(पीटी)  साइन्टिस्ट नामक कम्पनीको सहयोगमा बनाइनेछ । 

चन्द्रमामा मानव पाइला राखेको ५० वर्ष पुगेको अवसरमा चन्द्रमामा फोरजी नेटवर्क राख्न रोबोट पठाउन लागिएको हो । सन् १९६९मा नील आर्मस्ट्रंग र एडविन एल्ड्रिनले पहिलो पटक चन्द्रमामा पाइला टेकेका थिए । 

भोडाफोन जर्मनीको आधिकारिक रिपोर्टका अनुसार आउँदो वर्षमा चन्द्रमामा फोरजी नेटवर्क जोडिने छ । यसका लागि भोडाफोनले काम थालिसकेको छ । कम्पनीले नोकियासँगको प्राविधिक सहकार्यमा यस्तो महत्वाकांक्षी योजना अघि बढाएको हो । 

पीटी साइन्टिस्टका संस्थापक रोबर्ट बोमले फोरजी नेटवर्कको सहयोगले चन्द्रमाको कम खर्चमा नै एचडी भिडियो डाटा प्राप्त गर्न सक्ने बताए ।स्पेस डटकमका अनुसार कार निर्माता कम्पनी अडीले बनाएको रोबोट चन्द्रमामा पठाइनेछ । निजी खर्चमा नै पूरा गरिने यो पहिलो मिसन हो । 

कस्तो हुन्छ ट्रान्समिसन उपकरण ?

सामान्यतया इन्टरनेट सर्भिसका लागि टावर लगाइने गरिन्छ । तर चन्द्रमामा यस्तो हुँदैन । नोकिया फोरजी ट्रांसमिसनले यसका लागि सबैभन्दा हलुका ट्रान्समिसन उपकरण बनाउनेछ । नोकियाका अनुसार यो ट्रान्समिसनको तौल १ किलोभन्दा कम रहेको छ । 

फोरजी ट्रांसमिसनका लागि १८ हजार मेगाहर्ज फ्रिक्वेन्सी ब्यान्ड प्रयोग गरिनेछ । जुन एचडी भिडियोका लागि उपयुक्त मानिन्छ । 

स्मिथसोनियन डट कमका अनुसार रोबोटले पहिला लन्चरको एचडी भिडियो पठाउँछ । त्यसपछि सबस्टेसनले भिडियो पृथ्वीमा पठाउँछ । 

पीटी साइन्टिस्टका अनुसार यो रोबोटमा चारवटा पांग्रा हुनेछ । जसको सहायताले चन्द्रमाको खाल्डाखुल्डी जमिनमा रोबोटलाई यात्रा गर्न सहज हुनेछ ।  यो रोबोट ३० किलोग्रामको हुनेछ । यो रोबोटले ५ किलोग्राम अतिरिक्त भार लैजान सक्छ । 

रोबोटले फोरजी प्रविधिको सहयोगले थ्रीडी भिडियो पनि खिच्न सक्छ । विश्वका कतिपय स्थानमा सञ्चार सेवा नै नपुगेको अवस्थामा चन्द्रमामा निजी खर्चमा फोरजी नेटवर्क सञ्चालन गर्ने कुरालाई एकदमै महत्वका साथ हेरिएको छ ।