विश्वकप क्रिकेट : आज नेपाल र स्कटल्याण्ड भिड्दै, यस्तो छ दुई टिमबीचको इतिहास

काठमाडौं, फागुन २४ – जिम्बाबेमा जारी आइसीसी एकदिवशीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल आज स्कटल्याण्ड विरुद्ध खेल्दैछ ।

आइतबार भएको समूहको पहिलो खेलमा नेपालले जिम्बाबेसँग ११६ रनको पराजय ब्यहोरेको थियो । समूह चरणको शीर्ष तीनभित्र रहेर ‘सुपर सिक्स’ चरणमा पुग्नका लागि नेपालले स्कल्याण्डलाई हराउनुपर्ने चुनौति छ । स्कटल्याण्डलाई हराउँदै नेपाल पहिलो जिता दर्ता गर्ने तयारीमा रहेको छ ।

नेपाल र स्कटल्याण्डबीचको खेल जिम्बाबेको बुलावायोस्थित क्वीन्स स्पोर्टस क्लबको मैदानमा हुनेछ । यसै मैदानमा नेपालले समूहको पहिलो खेल जिम्बाबे विरुद्ध खेलेको थियो । खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ ।

स्कटल्याण्ड विरुद्ध नेपालको रेकर्ड राम्रो छैन । यसअघि तीन एकदिवशीय क्रिकेट खेलेको नेपालले जित हासिल गर्न सकेको छैन । यसअर्थमा बिहीबारको खेल नेपालका लागि प्रतियोगितामा पहिलो विजयका साथै स्कटल्याण्ड विरुद्ध बदला लिने अवसर पनि हुनेछ ।

नेपालले ४ वर्षअघि न्यूजिल्याण्डमा भएको एकदिवशीय विश्वकप छनोटमा स्कटल्याण्डसँग पराजय ब्यहोरेको थियो । नियमित कप्तान पारस खड्का चोटग्रस्त भएपछि ज्ञानेन्द्र मल्लको कप्तानीमा उत्रिएको नेपालले स्कटल्याण्डले दिएको २५० रनको लक्ष्य पछ्याउने क्रममा ४६.१ ओभरमा १५९ रनमा समेटिएको थियो । त्यतिबेला टिममा रहेका ४ खेलाडी अहिले पनि नेपालको टोलीमा छन् ।

यसैगरी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नेपालले स्कटल्याण्डसँग उसकै मैदानमा २ खेल खेलेको थियो । २०१५ को जुलाई २९ र ३१ मा खेलिएको दुवै खेलमा नेपाल पराजित भएको थियो । पहिलो खेलमा नेपालले २३६ रनको लक्ष्य पछ्याउने क्रममा २३२ रन मात्र बनाउन सकेको थियो ।

वर्षाका कारण ३६ ओभरमा झारिएको खेलमा नेपालका लागि ओपनर अनिल कुमार मण्डलले शतकीय पारी खेलेका थिए भने कप्तान पारसले ७० रन बनाएका थिए । नेपालले ३६ ओभरमा ५ विकेट गुमाएर २३२ रनमात्र बनाएपछि ३ रनको हार ब्याहोरेको थियो ।

त्यसको २ दिनपछि भएको अर्को खेलमा भने नेपालले पहिले ब्याटिङ गरेर ४९.१ ओभरमा अलआउट हुँदै १६७ रन बनाएको थियो । जवाफमा स्कटल्याण्डले १३.५ ओभरमा १ विकेट गुमाएर १११ रन बनाउँदा खेल वर्षाले बिथोलियो र डकवर्थ लेविस नियम अनुसार स्कटल्याण्ड ९ विकेटले विजयी भयो ।

जारी प्रतियोगितामा समूह चरणका यसअघिका दुई खेल जितेर स्कटल्याण्ड पाँच टोली सम्मिलित समूह ‘बी’को शीर्ष स्थानमा छ । स्कटल्याण्डले समूहको पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले स्तब्ध पारेको थियो भने दोस्रो खेलमा हङकङलाई ४ विकेटले हराएको थियो ।

अफगानिस्तान विरुद्धको जितमा स्कटल्याण्डका कोलुम म्याकलोइडले १५७ रनको शानदार पारी खेलेका थिए । प्रतियोगिताको अहिलेसम्म एकै इनिङमा सर्वाधिक रन बनाउने खेलाडी उनै हुन । नेपाल विरुद्ध पनि उनी चुनौति बन्न सक्छन् ।

त्यस्तै दोस्रो खेलमा हङकङलाई ९१ रनमा अलआउट गर्ने क्रममा स्कटल्याण्डका टम सोल र अलासदिर इभान्सले उत्कृष्ट बलिङ गरेका थिए । सोलले ४ तथा इभान्सले ३ विकेट लिए । सोलले १० ओभरमा ५ मेडन राख्दै १५ रन खर्चेर ४ विकेट लिएका थिए ।

समूह ‘बी’ को पहिलो खेलमा जिम्बाबे विरुद्ध ११६ रनको पराजय ब्यहोरेको नेपालको त्यस खेलमा ब्याटिङ र बलिङ दुवैमा कमजोर देखियो । ३८० रनको विशाल लक्ष्य पछ्याएको नेपालले २६४ रन बनाउँदा मध्य क्रमका ब्याट्सम्यानहरु शरद भेषावकर र आरिफ शेखले अर्धशतकीय पारी खेलेका थिए ।

बिहीबारको स्कटल्याण्ड विरुद्धको खेलमा नेपालले ओपनिङ ब्याटिङमा सुधार गर्नुपर्ने छ भने बलिङको पुरानै लयमा फर्कनु जरुरी देखिन्छ । अन्यथा टेष्ट राष्ट्र अफगानिस्तान र एकदिवशीय मान्यता पाएको हङकङलाई हराएर हौसिएको स्कटिस टोलीलाई रोक्न नेपाललाई फलामको चिउरासरह हुनेछ ।

प्लेयर्स टू वाच

कालुम म्याकलियोर्ड

मध्यक्रमका ब्याट्सम्यान कोलुम अफगानिस्तान विरुद्धको खेलमा शतक प्रहार गरेका थिए । उनले १ सय ४६ बल खेलेर अविजीत १ सय ५७ रन बनाउदा स्कटल्याण्डले सहज जित निकालेको थियो । कालुमले ५१ एकदिवसीय खेलमा ६ शतक र ५ अर्धशतक बनाएका छन ।

सन् २००८ मा इंग्ल्याण्ड विरुद्धको खेलमा डेब्यू गरेका २९ वर्षीया म्याकलियोर्ड नेपाल विरुद्धको यस अघिका तीन खेलमा टिममा परेका थिएनन् । यस अर्थमा नेपाली टोली उनका लागि नयाँ चुनौति हो ।

पारस खड्का

कप्तान पारस खड्काकै प्रदर्शनमा नेपालको प्रर्दशन निर्भर रहन्छ । ठूला शट खेल्न रुचाउने पारसको जिम्बाबे विरिुद्ध ३७ बलमा ४० रनको प्रदर्शनले मध्यक्रमका अन्य ब्याट्सम्यानलाई हौसला मिलेको थियो । उक्त खेलमा उनी बलिङतर्फ भने असफल रहे । उनले ५ ओभरमा ५७ रन खर्चिएका थिए ।

त्यसो त यसअघि विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गतको पहिलो खेलमा उनले स्कटल्याण्ड विरुद्ध ७० रनको पारी खेलेका थिए । दोस्रो खेलमा भने १० रनमा क्याचआउट हुन पुगेका थिए ।