ओलीको आशालाग्दो टोली ! पूरा गर्लान् त बोली ?

काठमाडौं, चैत ४ – संघीयता कार्यान्वयन र आर्थिक समृद्धिको मुख्य जिम्मेवारीका साथ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको महिना दिन भएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो टोलीमा विवादरहित, युवा तथा नयाँ जोश र जाँगर भएका नेतालाई मन्त्री बनाउनु भएको छ । सरकारमा आशालाग्दा अनुहार भएपछि आम नागरिकले पनि उनीहरुबाट राम्रै आशा गरेका छन् ।

कामभन्दा भाषण बढी गर्ने र झुटो आश्वासन दिने आरोप नेपाली नेतामाथि छ । तर वर्तमान सरकारमा सहभागी भएका मन्त्रीहरु भाषण भन्दा ‘एक्सन’ लिन सक्ने नेताहरु हुन् ।

चर्चित अर्थविद डा.युवराज खतिवडा अर्थमन्त्रीमा नियुक्त भएपछि नेपाली राजनीति र अर्थवृत्तमा नयाँ तरंग ल्याएको छ । कमजोर अवस्थामा पुगेको अर्थतन्त्रलाई सुधार गर्न उहाँको आगमनले महत्वपूर्ण भूमिका खेल्ने सबैमा विश्वास छ ।

सामान्य प्रशासनमन्त्री लालबाबुु पण्डित र उद्योगमन्त्री मातृका यादव यसअघि नै राम्रा काम गरेर चर्चा कमाइसकेका व्यक्तिहरु हुन् । लालबाबु पण्डित पहिला सामान्य प्रशासनमन्त्री हुँदा विदेशी नगारिकता र स्थायी बसोबासको अनुमति पत्र (पीआर) लिएका कर्मचारीलाई दुईमध्ये एक रोज्न लगाएपछि उहाँको प्रशंसा भएको थियो । 

यसपटक वातावरण तथा जनसंख्या मन्त्रीमा नियुक्त भएपछि एक वर्षभित्र काठमाडौंलाई माक्समुक्त बनाउने घोषणा गरेपछि राम्रै चर्चा बटुल्नुभयो । मन्त्रालय हेरफेर भएसँगै उहाँले फेरि सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । 

उद्योगमन्त्री मातृका यादवले पहिलो संविधानसभापछि प्रचण्ड नेतृत्वको सरकारमा वन मन्त्री बन्नु भएको थियो । अवैध रुपमा ढुंगाखानी सञ्चालन हुँदा पनि त्यसलाई रोक्न चासो नदेखाई अनियमितता गरेको भन्दै ललितपुरका तत्कालीन एलडीओलाई शौचालयमा थुनिएपछि उहाँ चर्चामा आउनुभएकोे थियो । उहाँ पनि भ्रष्टाचार विरोधि र जनहितमा काम गर्ने मन्त्रीका रुपमा परिचित हुनुहुन्छ ।

यस्तै एमालेका प्रभावशाली नेता प्रदीप ज्ञवालीलाई शालिन र बौद्धिक नेता मानिन्छ । तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पर्यटनमन्त्री बन्नुभएका ज्ञवाली कुटनीतिज्ञका रुपमा पनि परिचित हुनुहुन्छ । 

कुटनीतिक मामलामा पोख्त भएका कारण उहाँलाई प्रधानमन्त्री ओलीले पराराष्ट्रमन्त्रीमा नियुक्त गर्नुभएको हो । 
अन्तर्राष्ट्रिय स्तरमा नेपालका बलियो उपस्थिति जनाउन र छिमेकी मित्र राष्ट्र भारत र चीनसँग सम्बन्ध सुधार गर्न उहाँको भूमिका महत्वपूर्ण रहने विश्लेषण हुन थालेको छ । 

यसअघि उर्जामन्त्री बन्नुभएका गोकर्ण विष्टले विद्युत चुहावट रोकेर राम्रै चर्चा बटुल्नु भएको थियो ।  त्यसबेला झन्डै ४ महिना मात्र मन्त्री बनेका विष्टले  विद्युत चुहावट, खोलाको लाइसेन्स रोकेर राख्नेजस्ता उर्जा क्षेत्रका विकृति हटाउने प्रयास गर्नु भएको थियो । 

वर्तमान सरकारमा श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका विष्टले वैदेशिक रोजगारीमा जाने नेपालीका लागि उपयुक्त कदम चाल्ने बताउनु भएको छ । उहाँले दिनप्रतिदिन विदेशिने गरेका युवा शक्तिलाई रोक्ने र सुरक्षित वैदेशिक रोजगारीका लागि उल्लेखनीय काम गर्नेमा सबै आशावादी छन् । 

यस्तै एमालेका चर्चित युवा नेता रवीन्द्र अधिकारी पर्यटनमन्त्री बन्नु भएको छ । पहिलो पटक मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका अधिकारीले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि उचित कदम चाल्न सक्ने आँकलन गरिएको छ । उहाँ दोस्रो संविधानसभामा संसदको विकास समिति सभापतिमा रहँदा विकास योजना निर्माण र सरकारले गर्ने ढिलासुस्तीलगायतमा संसद्बाट खबरदारी गर्नु भएको थियो । 

यस्तै माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन अहिले उर्जामन्त्री बन्नु भएको छ । बाबुराम भट्टराई नेतृत्वको सरकारमा सफतापूर्वक अर्थमन्त्रीको जिम्मेवारी पूरा गरेका पुनले अहिले पाएको उर्जामन्त्रीको जिम्मेवारी पनि सहज रुपमा बहन गर्न सक्ने बुझाई नागरिकको छ । 

यस्तै शिक्षामन्त्री गिरिराजमणी पोखरेल, वनमन्त्री शक्ति बस्नेत पनि विवादमुक्त भई जिम्मेवारी सम्हालिसकेका व्यक्तिहरु हुनुहुन्छ । यस्तै कानूनमन्त्री शेरबहादुर तामाङ, यातयातमन्त्री रघुवीर महासेठ, महिलामन्त्री थममाया थापा, खानेपानी मन्त्री बिना मगर, कृषिमन्त्री चक्रपाणी खनाल, खेलकूद मन्त्री जगतबहादुर विश्वकर्मा पहिलो पटक मन्त्री बन्नु भएको छ । युवा जोश, जाँगर र क्षमतावान मन्त्रीहरुले  देशका लागि केही गर्लान् भन्ने आम नागरिकले ठूलो आशा गरेका छन् ।  

ओलीबाट आश

प्रधानमन्त्री केपी शर्मा ओलीले देशका लागि केही गर्लान् भन्ने सबैलाई लागेको छ । चुच्चे रेल कुदाउने, घरघरमा ग्याँसको पाइप पु¥याउने र हावाबाट बिजुली निकाल्ने घोषणा गरेका ओली बहुमत सहित सिंहदरबार छिरेपछि उहाँमाथि नागरिकको आशा बढेको हो ।

अब आफ्नो लागि गर्न केही बाँकी नरहेको र देशका लागि मात्रै गर्ने भएकाले विकास र समृद्धिमा कुनै कसर बाँकी नराख्ने उहाँले बताउँदै आउनु भएको छ ।

काम भन्दा भाषण बढी गरेको भन्दै नेतामाथि विश्वास गर्न छाडेका नागरिकले बहुमत सहितको सरकारले गरेका प्रतिवद्धतामाथि भने राम्रै आशा गरेका छन् ।

नवनियुक्त मन्त्रीहरुले पनि विकास, समृद्धि र सुशासनमा जोड दिएका छन् । देशको अर्थतन्त्र उकास्नेदेखि अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवी उच्च बनाउने र मित्रता कायम गर्ने अठोट गरेका छन् ।

सरकारी कामकाजमा हुने ढिलासुस्तीलाई न्युनीकरण गर्दै दण्डहिनताको अन्त्य गर्ने दाबी गरेका छन् । वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरुका विगत अनुभव तथा कार्यशैली देखेका नागरिकले ठूलो आशा पनि गरेका छन् । 

नागरिकको यो आशालाई निराशामा परिणत हुन नदिन प्रधानमन्त्री र मन्त्रीहरुलाई चुनौतीसँगै अवसर पनि प्रशस्त छन् ।