कृषि क्षेत्रमा लगानी वृद्धि समृद्धिको आधार बनाउने जनप्रतिनिधिको प्रतिवद्धता

तेह्रथुम । कृषि क्षेत्रमा लगानी वृद्धि गरी कृषिलाई समृद्धिको आधार बनाउने तेह्रथुमका जनप्रतिनिधिले प्रतिवद्धता जनाएका छन् । जिल्लाको ६० प्रतिशत बढी जनसंख्या कृषि पेशामा आधारित भएकाले पनि स्थानीय सरकारको प्राथमिकतामा कृषि क्षेत्र पर्ने उनीहरुको भनाई थियो । उनीहरुले कृषिजन्य बस्तुको उत्पादन र बजारीकरणमा जोड दिइने बताएका हुन् । म्याङलुङ्ग स्थित उद्योग वाणिज्य संघमा समृद्ध तेह्रथुमका लागि अभियानले गरेको कार्यक्रमको समीक्षा तथा पृष्ठपोषण संकलन गोष्ठीमा बोल्दै जनप्रतिनिधिहरुले कृषि क्षेत्र आफुहरुको प्राथमिकतामा रहेको बताएका हुन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख प्रेमलता घिमिरे गौतम, म्याङलुङ्ग नगरपालिकाका प्रमुख सन्जयकुमार तुम्बाहाम्फे, उपप्रमुख पार्वतीसानु डाँगी, लालीगुराँस नगरपालिकाका उपप्रमुख तिला पोखरेल र सहायक प्रमुख जिल्ला अधिकारी उमेश घिमिरेले कृषि क्षेत्रलाई स्थानीय सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । गाउँपालिका र नगरपालिकामा कृषि क्षेत्रमा काम गर्ने जनशक्ति अभाव रहेको पहिलो वर्ष कार्यक्रम सन्चालन गर्न केही समस्याहरु भएपनि आगामी वर्षबाट त्यसलाई व्यवस्थित गरेर कृषि क्षेत्रलाई उत्पादन मुलक र नाफामुलक बनाउने प्रतिवद्धता जनाउनुभएको छ ।

कार्यक्रममा बोल्दै जनप्रतिनिधिहरुले कृषि क्षेत्रमा काम गर्ने किसान र मजदुरको पेशागत स्वास्थ्य र सुरक्षा, पारिश्रमिक, उत्पादित बस्तुको निकासी कर लगायतका विषयमा विशेष पहल गर्ने बताएका छन् । जनप्रतिनिधिहरुले अलैँची, अदुवा, चिया र दुग्ध उत्पादनको क्षेत्र अझै महत्वपुर्ण भएको भन्दै ती कृषि उपजको उत्पादन वृद्धि गरी आम्दानी बढाउनेतर्फ आफुहरुले पहल गर्ने बताएका छन् ।

 

उन्नति पैरवी चुनौती कोष अन्तर्गत अन्तराष्ट्रिय श्रम संगठनको सहयोगमा समृद्ध तेह्रथुमका लागि अभियानले आयोजना गरेको कार्यक्रममा जिल्लास्थित जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, किसान, उद्योगी व्यवसायी, सन्चारकर्मीहरु सहभागी थिए । कार्यक्रममा संमृद्ध तेह्रथुमका लागि अभियानका कार्यक्रम निर्देशक लक्ष्मीनारायण मिश्रले संस्थाले सन्चालन गरेका कार्यक्रम र तिनबाट प्राप्त उपलब्धिहरु समेटिएको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहभागीले संस्थाले गरेका कामको प्रगतिबारे प्रतिक्रियासहित संस्थाले सन्चालन गरिरहेका गतिविधिहरु प्रशंशानीय भएको भन्दै आगामी दिनमा अझै सहकार्य र समन्वयलाई वृद्धि गरी कार्यक्रमहरु सन्चालन गर्न आग्रह गरेका छन् ।

 

०६८ सालमा स्थापना भएको सो संस्थाले हाल रेडियो तेह्रथुम ९२.४ मेगाहर्ज प्रशारण गरिरहेको छ । कार्यक्रममा सहभागीले रेडियो मार्फत सूचनामुलक कार्यक्रमहरु प्रशारण गरी समाज परिवर्तन र जिल्लाको समृद्धिका लागि सहयोग पु¥याउन सुझाव दिएका छन् । कार्यक्रममा सहभागी र सरोकारवाला जिम्मेवार निकायका बीचमा सवाल जवाफ समेत भएको थियो । कार्यक्रम समृद्ध तेह्रथुमका लागि अभियानका अध्यक्ष तथा रेडियो तेह्रथुमका प्रबन्धक महेन्द्रप्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको रेडियो तेह्रथुमले प्रत्यक्ष प्रशारण समेत गरेको थियो ।