यूपी र राजस्थानमा आँधीको कहर : मृत्यु हुनेको संख्या १०० नाघ्यो

वैशाख २१ – भारतको उत्तर प्रदेश र राजस्थानमा बुधबार आएको धुलोयुक्त आँधीका कारण ज्यान गुमाउनेको संख्या एक सय नाघेको छ । अरु धेरैजना घाइते भएका छन् ।

धेरै मानिस घरमा सुतिरहेको अवस्थामा आँधी आएकाले धेरैको ज्यान गएको बीबीसीले जनाएको छ ।

उत्तर प्रदेशमा मात्र ७० जनाको ज्यान गएको छ भने ८३ जना घाइते भएका छन् । राज्य सरकारले मृतकका परिवारको लागि ४ लाख रुपैयाँ क्षतिपूर्तिको घोषणा गरेको छ । उत्तर प्रदेशको आगरामा मात्रै ४३ जनाको ज्यान गएको थियो । 

त्यस्तै राजस्थानमा आँधीका कारण ३२ जनाको ज्यान गएको छ । घाइतेहरुको संख्या एक सय नाघेको छ । आँधीले विद्युत समेत अवरुद्ध भएको छ भने रुख तथा घरहरु समेत ढलेको छ ।