छुटेकालाई मतदाता नामावली दर्ता गर्न निर्वाचनको आग्रह

तेह्रथुम, २७ असार । जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेकाहरुले साउन १ गतेदेखि १५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सक्ने बताएको छ । 
कार्यालयले आगामी प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि नामावली छुटेकाहरुलाई जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता गराउन सूचित गरिएको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले बताउनुभयो । 
सार्वजनिक सूचना जारी गर्दै मतदाता नामावलीमा नाम छुटेकाले दर्ता, नाम तथा ठेगानामा कुनै त्रुटी भएको भए त्रुटी सच्याउने, नाम हटाउने वा सार्ने, आदिका लागि समेत सोही १५ दिनको अवधिमा निवेदन गर्न आग्रह गरेको उहाँले बताउनुभयो । मतदाता नामावली दर्ता गर्न जिल्लामा स्थायी बसोबास भएको व्यक्तिले आफ्नो सक्कल नागरिकता सहित व्यक्ति स्वयम् उपस्थित हुनुपर्नेछ । 
यसअघि नामावली दर्ता गराएकाहरुले भने फेरि नाम दर्ता गर्नुपदैनँ । १५ गतेसम्म दर्ता गरेपछि १६ देखि २० गतेसम्म दाबी विरोध समेत गर्न सकिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।