कारसँग मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एक गम्भीर

६ साउन, झापा । झापामा कारसंग मोटरसाइकल ठोक्किदा शुक्रबार एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा बिर्तामोड-५, हर्चना बस्ने ३८ वर्षीय कृष्ण थापा छन् भने गम्भीर घाइते हुनेमा मोटरसाइकल पछाडि सवार २५ वर्षीय गोविन्द चौधरी छन् । बिर्तामोड-भद्रपुर सडकखण्ड अन्तरगत हर्चना चोकमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे २ प ९०६८ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आइरहेको बा १६ च ४०८१ नम्बरको कारसँग ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनाबाट गम्भीर भएका दुवैलाई उपचारका लागि बिर्तामोडस्थित विएण्डसी हस्पिटलमा ल्याइएको थियो । घाइते मध्ये थापाको उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ । घाइते चौधरीको भने बिएण्डसीमै उपचार भइरहेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।