ओलाङचुङगोलामा रातभर ‘धुञ्ज्याङ’

श्रावण ८, २०७४- ताप्लेजुङ सदरमुकाम फुङलिङबाट २६ कोष उत्तरमा रहेको दुर्गमओलाङचुङगोलामा शुक्रवार रातभर ‘धुञ्ज्याङ’ भयो । स्थानीय भाषाको ‘धुञ्ज्याङ’को अर्थ नाचगान र खानपिन हुन्छ । यसमा बिशेषगरी आमा समुहले खानाका धेरै परिकार बनाउँछन् । सहभागीलाई खान दिएर नाचगान गरेर रमाइलो गरिन्छ । गाउँमा उच्च पदस्थ व्यक्ति वा ठूला ओहोदाका पाहुना भित्रिंदा 'धुञ्ज्याङ' गरिन्छ । यसको सुरुवात पाहुनालाई गलामा खादा पहिर्याएर गरिन्छ ।

तर, शुक्रबारको 'धुञ्ज्याङ' मा गाउँलेहरु अलि बढि नै उत्साही थिए । उनीहरुको आँखामा भविश्यको सपना छचलि्कन्थ्यो नै बतर्मानको खुशीयाली त छँदै थियो । यो खुशी कोही ठूला मान्छे पाहुना बनेर आएकाले थिएन । छिमेकी मुलुक चीनसँग आफ्नो बस्तीलाई सडकले जोडेकोमा थियो । शदियौंदेखि पैताला खियाउँदै नुनदेखि उन किन्नका लागि पुग्नु पर्ने तिब्बतको सिमासम्म अव गाडी चढेर सर्र पुग्न सकिने खुशियालीमा थियो । 

विकट ओलाङचुङगोलाबासीका लागि आफ्नै जिल्लाको सदरमुकाम ‘फुङलिङ’ पुग्नभन्दा कता हो कता सजिलो तिब्बतको सिमावर्ती वजार ‘रिउ’ पुग्नलाई थियो र छ । त्यसैले बस्तीमा फुङ्लिङ् नपुगेकाहरु होलान् तर रिउ नपुगेका छैनन् । हो, त्यही रिउ अव पैदल होइन गाडी चढेर जान सकिने भएको छ । चिनियाँ ड्राइभरले पहिलो पटक शुक्रकार बस्तीसम्म गाडी ल्याइपुर्याएको छ । यसका लागि बस्तीमै रहेकाहरु मात्र होइन, देश विदेशमा रहेका वालिङहरुको पसिना परेको छ । यसैको खुशियाली थियो । 
 
ओलाङचुङगोलाबासीको भाषा, सस्कृति, संस्कार तिब्बतीसंगै मिल्दो छ । अनि नुन, तेल, चामल जस्ता खाद्यान्न देखि खुट्टामा लगाउने जुत्ता, चिसोमा लगाउने ज्याकेट किन्न पनि रिउकै भर पर्नुपर्छ । हिड्न सक्नेका लागि एक दिन र नसक्नेका लागि डेढ दिनको दुरीमा रिउ बजार पर्दछ । अव चौंरी र याकले बोकेर ल्याउने खाद्यन्न र दैनिक उपभोग्य सामाग्री गाडीबाटै छिट्टै र सस्तो आइपुग्ने अपेक्षा छ । 

उत्तर–दक्षिण लोकमार्ग सडक आयोजनाका प्रमुख कुवेर नेपाली तिब्बतको सिमालाई जोडेको यो सडकले दैनन्दिन जीवनलाई सजिलो बनाउने मात्र नभएर आयआर्जनका लागि पनि उपयोग गर्न सकिने वताउँछन् । पर्यटन विकास तत्कालदेखि गर्न सकिने उनको दावी छ । उनले भने, ‘तापेथोक बगर पुगेको सडक अव हामी तत्काल लेलेपको रानी पुलसम्म बिस्तार गर्दैछौं । त्यहाँवाट लेलेपको वस्ती नजिकमा पर्छ । यहाँबाट ओलाङचुङगोला र कञ्चनजंघा आधार शिविर जाने पैदलमार्ग छोटिन्छ ।’ 

सदरमुकाम फुङलिङबाट रानीपुलसम्म सानो गाडी (ट्याक्सी) मा तीन घण्टामा पुगिन्छ । त्यहाँबाट अढाइ/तीन घण्टाको पैदल यात्रापछि लेलेपको इलाडाँडाँ पुगिन्छ । होमस्टे सेवासमेत रहेको यहाँ झुरुप्प वस्ती छ । यो बस्तीबाट पाँच/छ घण्टाको पैदल हिडाइमा ओलाङचुङगोला पुगिन्छ । सामान्यतया यात्रुहरुले यहाँ एक रात विताउने र विहानै गोलातर्फ लम्कने गरेको इलाडाँडाँकी कविता शेर्पा  बताउँछिन् ।
 
यो मार्गबाट इलाडाँडाँ झरना, तमोर, घुन्सा जस्ता नदीको छाल, तमोर फल्स, भष्मे फडानी गरेका बसेको बस्ति, हिमाली सौन्दर्यता र हिमश्रृङखलाहरु नियाल्न पाइन्छ । चैत/बैशाखमा गुँरास, चिमालले भरिने डाँडाँ पाखा हेर्दै पुगीने गोलासम्मको यात्रामा बिभिन्न किसिमका चराचुरुङगीको आवाज, बन्यजन्तु हेर्दै पुगीने सामुदायीक बन उपभोत्ता महासंघका जिल्ला अध्यक्ष कृष्ण ओझा बताउछन । मालिङगो घारीमा रेडपाण्डा जस्ता दुर्लभ बन्यजन्तुलेपनि स्वागत गर्ने ओझाको दावी छ । गोलामा चार सय बर्ष पुरानो दिकिछ्योखोलिङ गुम्वा रहेको छ । 

ओलाङचुङगोला –टिप्ताला भञ्ज्याङ सडक निर्माण उपभोत्ता समितिका अध्यक्ष छेतेन वालुङका अनुसार ओलाङचुङगोलादेखि नेपाली सिमाना टिप्तालासम्म पुग्दा सिंजेमा ताल, ठुलठुला फाँटहरु, हिमनदीको सौन्दर्यता र दुर्लभ बन्यजन्तुहरु नियाल्न पाइन्छ । दुई नदीले छेकेको मौवाटार, टिप्ताला भञ्ज्याङबाट उद्गगम भएको तमोर नदी, हिमाली क्षेत्रमा बिचरण गर्ने बनभेडा (नाउर) र यहाँको वनजंगल पर्यटकका लागि आनन्द प्रदान गर्न सक्ने क्षेत्र तथा स्थल हुन् । 

रमणीय सिंजेमा ताल हेर्न मोटरवाटोबाट करिव एक घण्टा पैदल हिड्नु पर्छ । छेतेनका अनुसार चीनको तिब्बत प्रशासनले अहिले ओलाङचुङगोलाका बासिन्दालाई मात्रै रिउ शहरमा भ्रमण अनुमति दिन्छ । घुम्न गएका पर्यटकलाई पनि तिब्बत घुम्ने अनुमति दिए सुनमा सुगन्ध हुने र छिमेकी देशको रहनसहन बुझ्न र जान्न सकिने उनले बताए । त्यसका लागि पहल गर्ने तिब्बतसँग ब्यापार गर्दै आएका पूर्व जिल्ला विकास समितिका सदस्य दावाएण्ड लामा बताउँछन् । दावाले यही असोजदेखि यो भ्रमणको पहल गर्ने योजना पनि बनाएका छन् । आन्तरिक पर्यटकको यो योजना सफल भए ट्रेकिङ पनि हुने र लामो पैदल हिड्नु नपर्ने भएकाले आम्दानीको राम्रो श्रोत हुने अपेक्षा लिएको दावाले बताए । 

बिगतमा सबैभन्दा टाढाको वस्ती मानिए पनि ओलाङचुङगोला अव कम लागतमा लामो दुरीको गन्तब्य बन्न पुगेको छ । सदरमुकामबाट तापेथोकसम्म ६ सय रुपैयाँ भाडामा पुगिन्छ । इलाडाँडाँमा सादा खानाको २ सय रुपैंया पर्छ । ओलाङचुङगोलामा खाना प्रतिछाक तीन सय रुपैंयामा पाइन्छ । २१ किलोमिटर मात्रै भएकाले यहाँबाट टिप्तालासम्मको भाडा ५ सयको हाराहारिमा मात्रै हुने ब्यावसायी बताउँछन । तिब्बती बजारसम्म पुग्न पाए कपडा, जुक्तालगायतका सामग्री सस्तो मूल्यमा पाइन्छ । दिर्घकालिनरुपमा भरपर्दो र बहुउपयोगी हुने यो सडकको फाइदा तत्कालका लागि पर्यटन क्षेत्रमा गर्न सकिने नेपालीको बुझाइ छ । चिराइतो, कुड्की जस्ता जडिबुटि चीन लानका लागि भने अहिले नै राहत मिलेको छ । 

गुणस्तरको जिम्मा अव सरकारको : नेपाली
समुदायको सकृयतामा नेपाली बस्तीसम्म सडक पुगेपछि यस्को गुणस्तरको जिम्मा अव सरकारको भएको उत्तर–दक्षिण लोकमार्ग आयोजनाका प्रमुख कुबेर नेपालीले बताएका छन । ‘समुदायले सडकको ट्रयाक खोल्नु सरकारका लागि सहयोग र चुनौती दुबै हो,’ उनले भने, ‘यस्को गुणस्तरको जिम्मा अव सरकारले लिन्छ ।’ इञ्जिनियरिङ हिसावले यस्लाई ब्यवस्थित गर्ने र बाह्रै महिना चल्ने बनाउने काम सरकारले गर्ने उनले बताए ।

सदरमुकाम देखि तिब्बत जोड्ने सडकका लागि ६० करोड रुपैंयाँ प्राप्त भएको र त्यसलाई तल्लोभाग (तापेथोक) बाट अगाडि बढाउने र माथिल्लो भाग (ओलाङचुङगोला) बाट तलतिर ल्याउने काम एकैसाथ गरिने उनले बताए । बहुबर्षीय ठेक्का प्रणाली अन्तर्गत टेण्डर आब्हान गरिएको र राम्रो ठेकदार परे एकाध बर्षमै तराईका जिल्लामा सडकले जोडिने उनले बताए । टिप्ताला भञ्ज्याङदेखि बिराटनगरको रानी भन्सार जोड्ने छोटो दुरीको तमोर करिडोरको कामपनि भइरहेको छ । तमोर करिडोर पुरा हुँदा २ सय ४९ किलोमिटरमा त्रीदेशीय (भारतको जोगमुनि, नेपालको विराटनगर र चिनको रिउ) भन्सार जोडिन्छ ।
 
समुदाय र सरकारको गरी तीन करोडको लागतमा बनेको सडक २१ किलोमिटरको छ । बिकट स्थल बाहेक यस्को चौडाइ ५ मिटरको छ । बिकटस्थलमा भने ४ मिटरको छ । दुई स्थलमा मात्रै तमोर नदी तारिएको छ । माथिल्लो क्षेत्रमा पानीको वहाव धेरै नभएकाले स–साना पुल वनाए हुने र पुल बिनापनि सञ्चालनमा कठिनाई नहुने इञ्जिनियर नेपाली बताउँछन् ।कान्तिपुर ।