लटरम्भ स्याउ फलेपछि किसान उत्साहित

श्रावण ८, २०७४- कार्कीबाडास्थित ढुम गाउँका लालबहादुर भाम रुखमा लटरम्भ स्याउ फलेको देखेपछि उत्साहित भएका छन् । उनको बगैंचामा स्याउको दानाले बोट निहुरिएका छन् । टुप्पाको हाँगा भुइँसम्म पुगेका छन् । उनको बगैंचामा ६ सयभन्दा बढी स्याउको बोट छ । सबै रुखमा फलेर स्याउ लटरम्भ छन् ।

रुखमा लटरम्भ स्याउ फलेको देखेपछि आम्दानी वृद्धि हुने उनलाई आशा पलाएको छ । हप्तैपिच्छे स्याउ बगैंचा हेरफेर गर्न जाने गरेका छन् । उनको बगैंचामा विभिन्न थरिक स्याउ फलेको छ । सीमित उनको मात्र नभएर ताल्चाका रामभत्त रोकायाको बारीमा पनि लटरम्मै फलेको छ । उनको स्याउ बगैंचामा सानादेखि ठूला रुख स्याउका दानाले निहुरिएका छन् । लटरम्भ स्याउले उनी उत्साहित छन् ।

रोकाया हरेक वर्ष स्याउ बिक्री गरेर चारदेखि पाँच लाख कमाउँदै आएका छन् । फलेको स्याउ देखेर यो वर्ष अझै बढी कमाउने अपेक्षा राखेका छन् । असोजमा स्याउ टिपेर बिक्री गर्न नेपालगञ्ज लैजाने गरेका छन् । मैतु गाउँका गोर्ख भामको स्याउ बगैंचा रुखका पातभन्दा दाना धेरै देखिन्छन् केही रसिलो, केही टर्रा प्रकारको स्याउ छ । रुखमा स्याउ लटरम्भ फलेको देखेपछि उनी आयस्रोत वृद्धि हुने आशामा छन् । 

मुगुको ताल्चा, मैतु, झापागार्ड, माथितु, बामलगायत स्थानमा यो वर्ष स्याउको सुबिकाल देखिएको छ । किसानका बारीदेखि आँगनका डिलसम्म लगाएका स्याउका बोटमा लटरम्भ दाना लागेका छन् । झयारी खोला ताल्चा हुँदै तलितुमसम्मको सडकको तलमाथि स्याउ लटरम्भै देखिन्छ । गाडीको झयालबाटै स्याउ टिपेर खान सक्ने सम्भावना उत्तिकै छ । सडकले गर्दा स्याउ खेती बढी हुन थालेको छ ।

जिल्लामा यो वर्ष स्याउ उत्पादन वृद्धि हुने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ अधिकृत नुनुलाल उराँवले बताए । समय अनुकूल वर्षा र किसानको मिहिनेतले स्याउ उत्पादन राम्रो देखिएको अधिकृतको भनाइ छ । 

मुगुमा करिब असोज पहिलो सातादेखि किसानले स्याउ बिक्री सुरु गर्ने गरेका छन् । प्रतिदाना ५ रुपैयाँमा किनबेच हुने गरेको छ । असोज दोस्रो साताबाट मुगुको स्याउ नेपालगञ्ज निकासी हुने गरेको छ ।

जिल्लाको २ सय १६ वटा बस्तीहरुको लेक साइटतिर स्याउ उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । मुगुमा करिब २३ मेट्रिकटन देखि ३२ मेट्रिकटन स्याउ उत्पादन हुने गरेको छ । प्रकाशित: श्रावण ८, २०७४ कान्तिपुर