सुभम र अनुभवको राष्ट्रिय कीर्तिमान

श्रावण ८, २०७४- सुभम श्रेष्ठ र अनुभव सुब्बाले हंगेरीमा भइरहेको विश्व पौडी च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । हंगेरीको बुढापेस्टमा सुभम श्रेष्ठले १ सय मिटर ब्रेस्टस्टोकमा हिटमा १ मिनेट ११.३४ सेकेन्डको समय निकाले । 

उनले एलिस श्रेष्ठको १३ वर्षको कीर्तिमानलाई तोडेका हुन् । एलिसले २००४ को एथेन्स ओलम्पिकमा १ मिनेट १२.३९ सेकेन्डमा निर्धारित दूरी तय गरेका थिए । सुभम कुल ७३ जना सहभागीमा ७० औं भएका थिए । उनी आफ्नो हिटमा छैटौं भएका थिए । पहिलो स्थानमा रहेका बेलायतका एडम पिटीको समय ५८.२१ सेकेन्ड थियो । 

अनुभवले ५० मिटर बटरफ्लाईमा घरेलु कीर्तिमान बनाएका हुन् । ८१ जना सहभागीमा ७४ औं भएका उनले २८.२६ सेकेन्डमा दूरी तय गरे । चन्द्रसिंह महतोले २०६५ मा पाँचौं राष्ट्रिय खेलकुदमा बनाएको २८.४३ सेकेन्डको समयलाई उछिनेका हुन् । आफ्नै हिटमा भने उनी चौथो स्थानमा रहँदै अर्को चरणका लागि छनोट भएनन् । 

दुवै नेपाली खेलाडी हिटबाटै बाहिरिएका छन् । विश्व पौडी च्याम्पियनसिपमा दुई महिला र दुई पुरुष गरी नेपालबाट चार खेलाडी सहभागी छन् । कान्तिपुर