उर्लाबारीका निशान टप नाइनमा

पूर्वको प्रतिनिधित्व गर्दै मोरङको उर्लाबारी–७ का २१ बर्षीय निशान भट्टराई नेपाल आइडलको टप  नाइनमा परेका छन् । सानै उमेरदेखि गायनमा विशेष रुची राख्ने निशान गजल र आधुनिक शैलीका गीत बढी मन पराउने गर्दछन् ।

सबै खाले गीत गाउन सक्ने उनमा खुबी छ ।  बुबा नित्यानन्द भट्टराई र आमा रेनुका भट्टराईको कोखबाट कान्छो सुपुत्रको रुपमा वि.सं. २०५३ साल जेठ २९ गते मोरङको उर्लाबारीमा उनको जन्म भएको हो । उनको प्रारम्भिक शिक्षा उर्लाबारीकै भृकुटी मोडल एकेडेमीबाट सुरु भएको हो । सानैदेखि संगीतको पारखी भएकाले सोही विद्यालयबाट संगीतको पनि प्रारम्भिक शिक्षा गुरुहरू विशाल राई र लिला पौडेलबाट सुरु गरेका थिए । उनले उर्लाबारीको बिहानी कलाकेन्द्रमा पनि लामो समयसम्म गुरुहरू कमला खनाल र यशोदा शाक्यसँग संगीतको शिक्षा लिएका छन् ।

उच्च माध्यमिक विद्यालयको पढाई सकिएसँगै काठमाण्डौको शंकरदेव क्याम्पसमा व्यवस्थापन विषय पढ्दै हाल मुर्छना संगीत विद्यालयमा गुरु मनोजराज शिवासँग संगीत पनि सिकिरहेका छन् । निशानले नेपाल आइडलमा लगातार उत्कृष्ट प्रस्तुति दिइरहेका छन् । प्रत्येक बिहिबार बेलुका ८ः४५ बजे एपी वान टेलिभिजनमा प्रसारण हुने नेपाल आइडलको टप १० मा पुगेका निशानलाई जिताउन यतिबेला भोटको आवश्यक परेको छ । गायन प्रतिभाको खोजीका लागि बहुप्रतीक्षित मानिएको ‘नेपाल आइडल’को अडिसन २०७३ माघबाट सुरु भएको थियो । विश्वमै धेरै हेरिने टेलिभिजन फ्रेन्चाइज ‘आइडल’ को नेपाली संस्करणलाई एपी वान टेलिभिजनले प्रस्तुत गरिरहेको छ । यस गायन प्रतियोगिताका लागि संगीतकार न्ह्यु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी निर्णायक रहेका छन् ।

सन् २००१ मा बेलायतका टेलिभिजन प्रोड्युसर साइमन फुलरले सुरु गरेको यो रियालिटी शो विश्वका विभिन्न मुलुकमा चर्चित छ । बेलायतमा पप आइडलका रूपमा परिचित यो सांगीतिक प्रतिस्पर्धा बाँकी देशमा सम्बन्धित देशको नामसँग आइडल जोडेर परिचित छ । अमेरिकी टेलिभिजन फक्स च्यानलले सन् २००२ बाट यो शोलाई अमेरिकन आइडलका रूपमा सञ्चालन गरेपछि विश्वव्यापी रूपमा यसको चर्चा सुरु भएको हो ।

अमेरिका, अस्टे«लिया, अरब, इन्डोनेसिया, न्युजिल्यान्ड, ल्याटिन अमेरिका, पोल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान र भारतपछि फ्रेन्चाइज ‘आइडल’ को नेपाली संस्करण नेपाल आइडल सुरु भएको हो । निशानलाई जिताउनको लागि vote गर्ने तरिका 07 type गरेर त्यसलाई 35225 मा पठाउन सकिने बताइएको छ । भोट बिहिबार राती 8:45 देखि शुक्रबार दिउँसो 12 बजेसम्म गर्न सकिने छ । पूर्वको शान निशान भएकाले उनलाई जिताउन अभियानै सञ्चालन गरिएको छ ।