फोनिज स्थापना दिवसको अवसरमा पत्रकार सम्मान ।

तेह्रथुम/ लक्ष्मि ठटाल,  साउन २८ — फोनिज तेह्रथुमले स्थापना दिवसको अवसरमा आज जिल्लाका विभिन्न पत्रकारहरूलाई सम्मान गरेको छ। विगत २० वर्षदेखि रेडियो मेन्छायेममा कार्यरत स्टेशन म्यानेजर भगिश्वर लिम्बू तथा पत्रकारिताको माध्यमबाट लिम्बू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएका पत्रकार राजकुमार लिम्बूलाई ताराबहादुर कन्दङवा फोनिज पत्रकारिता पुरस्कार’ प्रदान गर्दै सम्मान गरिएको हो।

फोनिज तेह्रथुमकी अध्यक्ष बबिता राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा म्याङलुङ नगरपालिकाकी उपप्रमुख जमुना कार्की सुवेदी, श्रम संस्कृति पार्टी तेह्रथुमका अध्यक्ष सुविन्द्र लिम्बू, नेपाल पत्रकार महासंघ तेह्रथुमका संस्थापक अध्यक्ष महेन्द्र काफ्ले, पत्रकार महासंघका पूर्व अध्यक्ष नरेश ढुंगाना, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधि र जिल्लाका पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख सुवेदीसहित वक्ताहरूले आदिवासी जनजाति समुदायको भाषा, संस्कृति, पहिचान र अधिकारको संरक्षण तथा प्रवर्द्धनमा फोनिजले खेलेको भूमिकाको चर्चा गरेका थिए। उनीहरूले स्थानीय भाषा र संस्कृतिको जगेर्नामा पत्रकारिताको योगदान महत्वपूर्ण रहेको बताए। विभिन्न संघसंस्थाका प्रतिनिधि कपिलदेव सिंघक लगायतले फोनिजको महत्व र स्थापना दिवसको सान्दर्भिकताबारे धारणा राखेका थिए। कार्यक्रममा पत्रकार मनु याक्थुङ्बाले कार्यपत्र प्रस्तुत गरेका थिए।

यस्तै फनिज केन्दिय समितिले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आफ्नो २७औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ। स्थापना दिवसको अवसरमा फोनिजले साउन २५ देखि २७ गतेसम्म काठमाडौंमा तीनदिने ‘अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलन’ आयोजना गरेको काठमाडौंमा श्रावण २५ गते प्रभातफेरी आयोजना गरेको छ कार्यक्रममा बोल्दै फोनिजका केन्द्रीय अध्यक्ष लक्की चौधरीले सम्मेलनमा विश्वका २७ देशबाट करिब ५० जना विदेशी मातृभाषी पत्रकारसहित देश–विदेशका करिब ४०० मातृभाषी पत्रकार सहभागी भएको जानकारी दिए। उनका अनुसार सम्मेलनमा मातृभाषा पत्रकारिताको वर्तमान अवस्था, मातृभाषी पत्रकारका समस्या, सञ्चारगृहको अवस्था तथा राज्यको नीतिगत भूमिकाबारे गहन छलफल भइरहेको छ।

चौधरीले सम्मेलनका दुई दिनमा ११ वटा प्यानल छलफल१४ वटा कार्यपत्र प्रस्तुत गरिएको बताए। उनले विगतमा स्थापना दिवसका कार्यक्रम औपचारिक समारोहमा सीमित हुने गरेको उल्लेख गर्दै यसपटक स्थापना दिवसलाई नीतिगत बहससँग जोड्ने प्रयास गरिएको बताए। आदिवासी अधिकारसँग सम्बन्धित विभिन्न विषयमा विज्ञहरूको सहभागितामा प्यानल छलफल सञ्चालन गरिएको उनको भनाइ थियो।

नेपालमा मातृभाषी पत्रकारहरूको वास्तविक अवस्था र तथ्यांकबारे राज्यस्तरबाट पर्याप्त अध्ययन तथा अभिलेखीकरण हुन नसकेको उल्लेख गर्दै चौधरीले देशभरका मातृभाषी पत्रकारलाई संगठित गर्ने छाता संस्थाका रूपमा फोनिजले यस विषयलाई निरन्तर उठाउँदै आएको बताए।

सम्मेलनको अन्तिम दिन विभिन्न कार्यपत्र प्रस्तुतिसहित प्यानल छलफल सम्पन्न गरी साँझ काठमाडौं घोषणापत्र’ जारी गर्दै सम्मेलन तथा फोनिजको २७औँ स्थापना दिवस समारोह समापन गरिएको जनाइएको छ।

फोनिजले २७औँ स्थापना दिवसलाई मातृभाषा पत्रकारिताको संरक्षण, प्रवर्द्धन र नीतिगत बहसलाई सशक्त बनाउने अवसरका रूपमा मनाएको जनाएको छ।