व्यवसायिक गाईपालन बाट मनग्ये आम्दानी ।।

अस्मिता सुवेदी
तेह्रथुम २७, चैत्र । तेह्रथुमको मेन्छ्यायम गाँउपालिका–६, मोराहाङको सिकिदिम सिरुपाखाका ऋषि थापाले व्यवसायिक रुपमा गाईपालन गरी आम्दानी गरिरहेका छन् । गाउँमै व्यवसाय गर्दै आएका थापाले एक वर्षदेखि ‘कृष्ण गाई फर्म’ सञ्चालन गरेका छन् । सो फर्ममा अहिले आठ वटा उन्नत जातका गाई पालिएका छन् । आधुनिक गोठ निर्माण गरी व्यवसायिक रुपमा थालिएको गाई फर्ममा अहिलेसम्म दश लाख रुपैयाँ लगानी भइसकेको थापाले बताए । ‘फर्ममा कामधेनु १, जर्सी ३ र होलिस्टोन ४ गरी आठ वटा गाई छन्, दैनिक ४० लिटर दुध विक्री भइरहेको छ,’ उनले भने । फर्मबाट दुध विक्री गरेर मात्रै मासिक १ लाख रुपैयाँ आम्दानी भइरहेको उनले बताए । यहाँ उत्पादित दुध बजारमा विक्री हुदैनँ । थापा आफैँले छुर्पी उद्योग पनि चलाएका छन्। आफुले उत्पादन गरेको दुधबाट आफैँले छुर्पी र घ्यु समेत उत्पादन गरिरहेको थापाले बताए । ‘फर्मबाट दैनिक ४० लिटर दुध उत्पादन हुन्छ, बाँकी २० लिटर गाउँबाट संकलन गर्छौँ,’ उनले भने, ‘त्यही दुधबाट छुर्पी र घिऊ उत्पादन भइरहेको छ ।’ फर्म र छुर्पी उद्योग दुवैतिर बाट गरी मासिक १ लाख २० हजार रुपैयाँ आम्दानी हुने गरेको उनले बताए ।

यहाँ घिऊ गाउँमै विक्री हुन्छ । छुर्पी भने गाउँमा विक्री भएर बाँकी रहेको जिल्लाबाहिर निकासी भइरहेको छ । युवाहरुलाई गाउँमै स्वरोजगार बन्न प्रेरित गर्न ध्येयले पनि आफुहरुले सामुहिक फर्म खोलेर व्यवसायिक बन्ने प्रयास गरेको उनीहरुको भनाइ छ । थापाको फर्म र उद्योगले अहिले लगानी उठाई सकेको छ । अब फर्मलाई अझै व्यवस्थित गरेर लगानी थप गर्ने योजना रहेको उनले बताए । ‘गाईपालन गरेर पनि राम्रै कमाई गर्न सकिने रहेछ, मैले उद्योगबाटै परिवार धानेर यसबाटै लगानी समेत उठाइसकेँ,’ उनले भने । आफुले गाउँका युवाहरुलाई समेत गाउँमै व्यवसायिक बन्न सुझाव दिइरहेको थापाले बताए ।  ‘धेरै कमाउने लक्ष्यले सबै विदेश जान्छन्, विदेशमा जे पनि गर्छन्,’ उनी भन्छन्, ‘त्यहीमेहिनेत यही गाउँघरमै गरे राम्रो कमाई गर्न सकिन्छ भन्ने चेतना उनीहरुमा छैन ।’ गाउँको श्रोत साधनलाई उपयोग गरेर कृषिमै व्यवसायिक बन्न सकिने थुप्रै सम्भावना भएको थापा बताउँछन् । थापाको आफ्नै किराना पसलबाट पनि मोटो रकमको छुर्पी विक्री हुन्छ । पसल नजिकै विद्यालय छ । विद्यालयका विद्यार्थी र शिक्षकले दैनिक छुर्पी खान्छन् । फर्म र छुर्पी उद्योगबाट अहिले आफुहरुसहित अन्य दुई जनालाई रोजगारी मिलेको थापाले बताए । युवालाई स्वरोजगार बनाउन  सरकारले विना धितो ऋणको व्यवस्था गर्नुपर्ने उनको माग छ । ‘सुरुमा गाई फर्म खोलियो, पछि दुध विक्री नभएपछि छुर्पी उद्योग पनि खोलेको छु,’ थापाले भने । उनले गाईपालन सम्बन्धी कुनै तालिम पाएका छैनन् । प्राविधिक ज्ञान नहुँदा नहुदै पनि व्यवसायिक बन्ने प्रयास थालिएको र अहिले सफल हुनेक्रममा रहेको उनी बताउँछन् ।