रोहिता मगर
तेह्रथुम २५, चैत्र । तेह्रथुमको फेदाप गाउँपालिका–३, जलजलेका दयाराम भट्टराई (५५) एसएलसी सम्मको पढाई पछि ०४५ सालमा संस्कृति पढनका लागि वनारस छिरे । पंण्डित्याँई विद्या सिक्न गएका उनले त्यहाँ जाँदा–आउँदा सिक्किम, दार्जिलिङ घुम्ने मौका पाए । त्यहाँको जनजीवन र जीवनशैली पनि देखे । तर उनलाई आफुले पढेको संस्कृत विद्या र पंण्डित्याई कार्य भन्दा त्यहाँको व्यवसायिक खेती र जीवनशैलीले प्रभावित पा¥यो । ०४२–४३ बाटै गाउँमा खेती सुरु भएको अदुवाको दार्जिलिङबासीले गरेको व्यवसायिक खेती देखेपछि भट्टराईले गाउँ फर्किएर अदुवाको खेतीमा लाग्न अभियान चलाए । संस्कृत पढेर जजमानि गर्दै पण्डित भएर गाउँ पस्नुपर्ने दयारामले गाउँ फर्किएर अदुवाको व्यवसायिक खेती थाले । सुरुमा आफुले र सँग–सँगै छिमेकीहरुलाई पनि अदुवाको व्यवसायिक खेतीमा लाग्न सुझाए । ०५१ सालतिर गाउँका धेरैले अदुवा रोपिसकेका थिए । जान्ने बुझ्नेले व्यवसायिक रुपमै अदुवाको खेती लगाउन थालेका थिए । परम्परागत बालीभन्दा बढी आम्दानी दिने भएपछि भट्टराई अदुवामै व्यवसायिक बने । ०५२ सालमै आफुले ९० हजार रुपैयाँको अदुवा बेचेको भट्टराईले सुनाउँछन । उनले त्यसयता निरन्तर अदुवाको खेती लगाउँदै आएका छन । तर ०५४ सालपछि अदुवाको बजार झण्डै एक दशकसम्म निरन्तर ओरालो लागेको थियो । त्यस पछि ०६१ सालमा नै आफुले अदुवा १ सय १० रुपैयाँ प्रति केजीले बेचेर सो वर्ष उनले अदुवावाट १ लाख रुपैयाँ आम्दानी गरेको बताए । त्यसयता उनले हरेक वर्ष कम्तिमा ३०–४० हजारदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन । ०७० सालपछि फेरि अदुवाले बजार पाउन छाडेको उनी बताउँछन । गाउँ–गाउँमा अधिक मात्रामा उत्पादन हुन थालेपछि ०७१ सालमा अदुवाको मुल्य पुनः ३–४ रुपैयाँमा झरेको थियो । सो वर्ष धेरैले अदुवा बारीमै राख्दाराख्दै कुहिएको भट्टराई बताउँछन । त्यसयता भट्टराईले अदुवाको बजार पर्खिएर लागेको रोगबारे प्राविधिकको परामर्श बिनै निजी एग्रोभेटबाट विषादी किनेर प्रयोग गर्छन। ०५१ सालयता अहिलेसम्म निरन्तर अदुवाको खेती लगाउँदै आएका भट्टराई गाउँमा अदुवा विशेषज्ञ जस्तै हुन । गाउँमा उनलाई अदुवा खेतीका अभियन्ताको रुपमा समेत चिन्छन । उनको अभियान अहिले सफल पनि भएको छ । जलजले गाउँका झण्डै पाँच सय बढी घरधुरीले अहिले अदुवाको खेती लगाउँछन । गाउँमा अदुवासहित कृषि कर्ममै लागौँ भनेर ‘रुखो, पाखो बज्याँऔँ, एक पटक श्रम देऊ, भन्दै अभियान थालेका भट्टराईको गाउँमा अहिले सवै व्यवसायिक भएका छन तर केही वर्षयता अदुवामा रोगको संक्रमण बढेको छ । अदुवाको गानो कुहिने र उमेर नै नपुगी अदुवा वारीमा नै सुकेर जाने रोगले सताएको छ । यसले गर्दा अदुवा उत्पादन कमी आएको छ । अदुवाको गुणस्तर पनि खस्कदो अवस्थामा रहेको छ जुन स्तरको अदुवाको गानो उत्पादन हुनु पर्ने हो, सो अनुसार हुन छोडेको छ । यसरी उत्पादनमा नै कमी हुन थाले पछि अदुवाको विउमा नै विषदि लगाएर उपचार गरि रोप्न थालियो । यसले पनि नभए पछी आज भोलि त अदुवा वारीमा प्राय कृषकले विषदि हान्ने गरेका छन उनले भने । अझ कुनै कुनै कृषक साथिहरुले त माटोको उपचार गर्ने नाममा वारीमा मालाथिन लगायतका विषादी वारीमा लगाउने, कृषि चुन लगायत घरेलु मल भन्दा वढी राषायनिक मल प्रयोग गर्ने गरेका छन । यसले नेपाली अदुवाको गुणस्तर घटेको भट्टराई बताउँछन । गुणस्तर घटेपछि अन्तराष्ट्रिय बजारमा अदुवाको माग घटेको उनको बुझाई छ । यहाँका किसानले अदुवामा लागेको रोगबारे प्राविधिकको परामर्श बिनै निजी एग्रोभेटबाट विषादी किनेर प्रयोग गर्ने गरेका थिए । तर अहिले रेडियो कार्यक्रम उन्नति संवाद सुन्न थालेपछि र विभिन्न तालिमहरु सहभागी हुने अवसर पाएपछि किसानले त्यस्ता विषादी प्रयोग गर्न छाडेका किसान भट्टराईले बताए । हाल विषादी कम गराउने राष्ट्रसंघीय सन्निकटताका सिद्धान्तको अवधारणा बमोजिम किसानहरुले पनि बिषादी कम गराउँदै उत्तरदायी व्यवसायिक बातावरण सिर्जना गर्न किसानको स्तरबाटै थाल्नुपर्छ भन्ने रेडियो कार्यक्रमबाट किसानहरुले जानकारी पाएको अदुवा किसान भट्टराईले बताए ।