धरानको होटलमा महिलाको हत्यामा संलग्न व्यक्ती पक्राउ

धरान-१८ बुद्धचौक स्थित न्यु कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठा नं. १०९ मा महिलाको हत्या गरी फरार रहेका पुरुष अन्ततः पाँच दिन पछि प्रहरी फन्दामा परेका छन् । 

पक्राउ परेका पुरुष धनकुटाको पख्रिबास नगरपालिका-६ फलाँटे घर भएका २४ बर्षिय दिनेश राना मगर भएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवरले बताए ।

होटलमा महिलाको हत्या गरी फरार रहेका राना मगरको पहिचान प्रहरीले गरेर खोजी गर्नेक्रममा शनिवार धनकुटाको छथर जोरपाटी गाउँपालिकामा रहेको उनको ससुरालीबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय धनकुटाको सहयोगमा हत्या गरी फरार रहेका राना मगरलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।  पक्राउ परेका दिनेश पनि विवाहित रहेको बताइएको छ । 

प्रहरीका अनुसार केही समय पहिले इटहरीमा सिटी सफारी चलाउने गरेको र सोही समयमा इटहरी-५ तुलसा टोल बस्दै आएकी मृतक सुमित्रा तामाङसँग भेट भएको थियो । सो क्रममा उनीहरू बिच माया प्रेम हुन पुगेको थियो । दिनेश पछिल्लो समय ह्याभी इकुपमेन्टको सह चालक बनेर ३,४ महिना देखि भोजपुर बस्न थालेका थिए । यो बिचमा उनीहरूको सम्बन्धमा खटपट भए पछि होटलमा हत्या गर्न पुगेको प्रहरीको प्रारम्भिक बयानमा बताएको र आफूले हत्या स्वीकारेको प्रहरीले बताएको छ । 

पक्राउ पछि दिनेशलाई धरान ल्याइँदै गरिएको र आइतबार पत्रकार सम्मेलनको आयोजना गरी बृस्तिृत जानकारी दिने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवरले बताए ।  

गत मंगलबार धरान-१८ बुद्धचौक स्थित न्यु कान्तिपुर होटल एण्ड गेष्ठ हाउसमा पाँचथरको मिक्लाजुङ-१ की ३९ वर्षीय सुमित्रा तामाङ मृत फेला परेकी थिइन् । मृतकको शवको पहिचान उनकै छोराछोरीले गरेका थिए ।  

उनका श्रीमान् पूर्व भारतीय सेना रहेको र हाल ब्रुनाईमा कार्यरत रहेको बताइएको छ । उनी इटहरी उपमहानगरपालिका ५ तुलसा टोलमा विगत ४,५ वर्ष देखि बसोबास गर्दै आएका थिए ।