२०२२ को फुटवलमा उत्कृष्ठ ११ खेलाडी देख्न पाइने छैन

    विश्वकप फुटबल शुरू हुन आठ महिना पनि बाँकी छैन । यसै वर्षको नोभेम्वर–डिसेम्बरमा कतारमा आयोजना हुने यस प्रतियोगितामा भाग लिने ३२ मध्ये २९ टोलीको टुङ्गो समेत लागिसकेको छ । अन्तरमहादेशीय प्लेअफबाट दुई र युरोपियन प्लेअफबाट एक गरी तीन टोलीको निर्णय हुन बाँकी नै छ ।

संसारभर फुटबलको यो महाकुम्भको पारा चढ्न थालिसकेको छ । छनौट हुन सफल राष्ट्रहरू यसको तयारीमा लागिसकेका छन् भने फुटबलका पारखीहरू पनि त्यो दिनको व्यग्र पर्खाइमा छन् । तर यसपटकको विश्वकपमा समर्थकहरूले त्यस्ता केही ठूला खेलाडीहरूलाई देख्न पाउने छैनन् जो अहिले विश्व फुटबलमा तहल्का पिटिरहेका छन् ।

बेलायतको दि सन स्पोर्टसले हालै उत्कृष्ठ एघारको टिम सार्वजनिक गरेको छ जसले यो वर्ष कतारमा हुने विश्वकप फुटबल गुमाउने छन् । २–३–२–३ को फर्मेसनमा तयार पारिएको यो टोलीको अग्रपंक्तिमा फरवार्डद्वय एर्लिङ एर्लिङ हालान्ड र मोहमद सलाहको नाम छ ।

बोरूसिया डर्टमन्डका लागि उत्कृष्ठ खेल खेल्दै यो सिजन बुन्डेसलिगामा १६ गोल गरिसकेका ‘गोल मेसिन’ हालान्डले आफ्नो देश नर्वेलाई भने विश्वकपमा छनौट गराउन सकेनन् । युरोपियन क्वालिफायरको समूह जीमा नेदरल्याण्डस् र टर्कीभन्दा पछाडि रहँदै नर्वे विश्वकपको छनौट चरणबाटै बाहिरिएपछि २१ वर्षका हालान्डको विश्वकप खेल्ने सपना यसपटकलाई अधूरै रहन पुग्यो ।

२०१८ को संस्करणको अन्तिम खेलमा पेनाल्टीमा गोल गर्दै आफ्नो देशलाई विश्वकपमा छनौट गराएका मोहमद सलाहले यसपटक भने त्यसो गर्न सकेनन् । प्रिमियर लिगका ‘टप स्कोरर’ र ‘अस्सिस्ट प्रोभाइडर’ समेत रहेका मोहमद सलाह नै पेनाल्टीमा चुकेपछि इजिप्ट विश्वकप छनौटको अन्तिम खेलमा सेनेगलसँग टाईब्रेकरमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो ।

आर्सनलबाट खेल्ने नर्वेर्जियन खेलाडी मार्टिन ओडेगाडले टिमको सेन्टर मिडफिल्ड पनि सम्हाल्नेछन् । ओडेगार्डलाई दायाँबाट लिभरपुलका अर्का खेलाडी लुईस डियाजले साथ दिनेछन् भने बाँयाबाट म्यानचेस्टर सिटीका मिडफिल्डर रियाद महरेजले ।

साउथ अमेरिकन प्लेअफमा पेरूद्वारा पराजित हुँदै कोलम्बिया छनौट चरणबाट बाहिरिएको थियो भने अफ्रिकन छनौटको निर्णायक खेलमा रियाद महरेजको अल्जेरिया क्यामरूनको हातबाट नाटकीय पराजयको शिकार हुनुपरेको थियो ।

मालीका वाई बिसौमा र इटालीका जोर्गिन्होले पछाडिबाट मिडफिल्डलाई साथ दिनेछन् । ट्युनिसियासँग पराजित हुँदै माली प्रतियोगिताबाट बाहिरिएपछि ब्राइटनका मिडफिल्डर बिसौमाले यस वर्षको विश्वकप घरमै बसेर हेर्नुपर्ने भएको छ । युरोपियन च्याम्पियन इटाली भने युरोपियन प्लेअफ सेमिफाइनलमा नर्थ मेसोडोनियासँग हारेपछि लगातार दोस्रोपटक विश्वकप खेल्नबाट बञ्चित हुनुपरेको हो ।

टोलीको रक्षापंक्तिको केन्द्रमा अर्का इटालियन लेजेन्ड डिफेन्डर जर्जियो केलिनी रहनेछन् भने लेफ्टब्याकमा उनकै राष्ट्रिय टोलीका सहकर्मी लियोनार्दो स्पिनाजोलाले उनलाई साथ दिनेछन् । डिफेन्सको राइटतर्फ स्वीडेनका कप्तान भिक्टर लिन्डेलोभ रहनेछन् । स्वीडेन प्लेअफको सेमिफाइनलमा पोल्याण्डसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिए पछि म्यानचेस्टर युनाइटेडका यी डिफेन्डरको विश्वकप सपना अधूरै रहेको हो ।

सन स्पोर्टसले यो टोलीको गोलपोस्टको जिम्मेवारी स्पेनिस क्लब एट्लेटिको मेड्रिडका गोलकिपर जान ओब्ल्याकलाई सुम्पिएको छ जसले क्लब फुटबलमा त उच्चस्तरको खेल प्रदर्शन गरिरहेका छन् तर विशवकप छनौटमा उनको टोली स्लोभानिया भने यसपटक प्रतिश्पर्धामा समेत आउन सकेको थिएन । यो टोलीको यो टोलीको कप्तानमा नर्वेका मार्टिन ओडेगाड चुनिएका छन् भने म्यानेजरमा इटालीका प्रशिक्षक रोवर्टो मान्चिनीलाई घोषित गरिएको छ ।

अन्य केही खेल विशेषज्ञहरूले भने उत्कृष्ट–११ को गोलकिपरमा यूरोकप विजेता टोलीका जियानलुइगी डोनारुम्मालाई रोजेका छन् । स्वीडेनका ज्लाटन अब्रामोबिच, गाबोनका पिएरे–एम्रिक आबुमोयाङ, आइभरीकोस्टका वेल्फ्रेड जाहा ९क्रिस्टल प्यालेसका विंगर० र फ्रान्क किसे, एसी मिलानका नाइजेरियन फरवार्ड भिक्टर ओसिमेन, नाइजेरियाकै अल्फ्रेड एनडिडि, गिनीका नबी किएटा (लिभरपुल), रियल म्याड्रिडबाट खेल्ने अष्ट्रियाका डेविड अलाबा, चेक रिपब्लिकका प्याट्रिक सिक, इटालीका मार्को भेराटी र फेडेरिको चिएसालाई पनि यसपटक विश्वकपमा देख्न पाइने छैन ।

कोलम्बियाका जेम्स रोड्रिग्वेज, चिलीका एलेक्सिस सान्चेज र र अर्टुरो भिडाल अन्य केही चर्चित नाम हुन् जो यो सूचीमा पर्न पुगेका छन् । त्यस्तै स्कटल्याण्ड, वेल्स र युक्रेनले प्लेअफ खेल खेल्न बाँकी नै रहेका कारण यो सूचीमा थपिन सक्ने अर्को महत्वपूर्ण नाम गेराथ बेल रहेको छ । स्रोतः INS न्यूज