भारतका पाँच राज्यमा भएको विधान सभामा भाजपा तीनमा विजयी

 रेडियो तेह्रथुम – भारतको पाँच राज्यमा भएको विधानसभा चुनावमध्ये तीन वटामा भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा) विजयी भएको छ । हिन्दी भाषी क्षेत्रका प्रमुख तीन राज्य मध्यप्रदेश, राजस्थान र छत्तिसगढमा भाजपाले बहुमत प्राप्त गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आगामी वर्ष हुने आमचुनावबाट लगातार तेस्रो पटक पनि सरकारको नेतृत्व गर्ने अभिलाषा बोकेका मोदीका लागि यो सुखद् सङ्केत भएको समाचारमा उल्लेख गरिएको छ । 

चुनावको नतिजापछि नयाँ दिल्लीमा रहेको भाजपाको मुख्यालयमा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले केही व्यक्तिले यो चुनावलाई लिएर भारतलाई विभिन्न जातिमा विभाजन गर्न खोजे पनि त्यो सफल नभएको टिप्पणी गर्नुभयो । उहाँले आफ्ना लागि भारतमा नारी, युवा, किसान र गरीब परिवार गरी चार जाति रहेको र यी जातिलाई सशक्त बनाउन सकेमात्रै देश विकास हुने बताउनुभयो ।

यस्तै, भारतको तेलङ्गना राज्यमा भने कंग्रेस विजयी भएको छ । भारत राष्ट्र समिति बीआरएसलाई पराजित गर्दै तेलङ्गनामा कंग्रेस विजयी भएको हो । मिजोरममा भने आज मतगणना हुँदैछ । यसैबीच, तेलङ्गनाका मुख्यमन्त्री के. चन्द्रशेखर रावले पदबाट राजीनामा दिनु भएको छ । विधानसभा चुनावमा आफ्नो पार्टी भारत राष्ट्र समिति बीआरएसले हार व्यहोरे पछि उहाँले राजीनामा दिनु भएको हो ।